नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको आयोजनामा विद्यालय तहमा कार्यक्रम शिक्षकहरुका निम्ति पेसागत जागरण र सिर्जनात्मक सोचको विकासको उद्देश्य सहित एक दिने शिक्षक उत्प्रेरणा तथा पेशागत अभिमुखिकरण मङ्गलबार मेलम्चीमा सम्पन्न भएको छ ।
लेखक, उत्प्रेरक तथा शैक्षिक व्यक्तित्व आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको उक्त अभिमुखिकरणमा करिब एक सय जना शिक्षकहरुको सहभागिता रहेको थियो । भण्डारीद्वारा प्रकाशित असल शिक्षक, असल अभिभावक, जीवनदर्शन लगायतका विभिन्न उपयोगी पुस्तकहरु निकै लोकप्रिय रहेका छन् ।
संगठनका बागमती प्रदेश समिति सदस्य शारदा प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा शिक्षण कौशल एवम् क्षमता विकासमा शिक्षकहरुले अपनाउनु पर्ने व्यवहारिक सीपका बारेमा प्रशिक्षित गरिएको थियो ।
नगर समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षता भएको कार्यक्रममा वडाध्यक्षहरु कुष्णमुरारी चौलागाई, नगेन्द्र प्रसाद खतिवडा, संगठनका जिल्ला उपाध्यक्ष निर्मला धिताल, शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमारप्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी सापकोटाले मेलम्ची नगर समितिले शिक्षकको पेशागत अधिकारका साथै शैक्षिक गुणस्तरसँग सम्बन्धित सिर्जनात्मक कार्यहरु गर्दै आइरहेकोमा सोको प्रशंसा गर्दै यस्ता रचनात्मक कार्यलाई अन्य पालिकाहरुले पनि अनुसरण गर्न गर्नुपर्ने बताउनुभयो ।
राष्टिय समितिले साङ्गठनिक सुदिृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि देशव्यापी रुपमा सञ्चालन गरिरहेको मार्च टु लोकल लेभल २०२४ अन्तर्गत विभिन्न तहमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको संगठनका जिल्ला कोषाध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।