चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि पूर्ण रुपमा खुलेको छ । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो ।

केही मात्रामा कन्टेनरबाट सामान ओसारपसार भए पनि मानव आवतजावतमा रोक लगाइएको थियो । शुक्रबार ८ वर्षपछि यो नाका हुँदै सर्वसाधारण चीन प्रवेश पाउने गरि नाका खुलाइएको हो ।

अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यो क्षेत्रका सांसद माधव सापकोटा, भन्सार कार्यालयका प्रमुखसहितको टोली पास बनाएर चीनतर्फ लागेसँगै यो नाका पूर्ण रुपमा खुलेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताउनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।
