रेडियो मिसन, नवलपुर ।
बागमती प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलाल शरदले देशको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । नवलपुर भ्याली स्कुलको पहिलो वार्षिकोत्सव, सम्मान तथा पूर्व प्रा बि दिक्षन्त एवं अभिभावक भेला कार्यक्रमका प्रमुख अतिथी दुलालले देशमा ठूलो राजनैतिक परिवर्तन भए पनि शैक्षिक परिवर्तन बिना हाम्रा सन्ततीहरुले यो देशनै उपयोग गर्न नपाउने अवस्था आउनसक्ने बताउनुभएको हो ।
ब्यक्तिलाई क्षमताको हिसावले शसक्त बनाउनु मात्रै हाम्रो सफलता नभई दुष्टिकोण, बिचार र भावनात्मक रुपमा पनि शसक्त बनाउन जरुरी रहेकोले त्यसलाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्नुपर्ने उहाँको धारणा थियो ।
नेपालमा उत्पादन भएका शैक्षिक जनशक्तीलाई देशमै बस्ने रम्ने र काम गर्ने र देशको बिकाश गर्ने वातावरण बनाउन सक्नुपर्ने बताउँदै काम गर्न घुम्न पढ्न जुन देश गएपनि देशको नागरिकता त्याग गरी बस्नपर्ने अवस्था आउन दिन नहुने बताउनुभयो ।
देश बनेन र बनाएन भनेर गाली गरेर मात्रै बिकाश नहुने भएकोले हामी आफैले बनाउने अठोटका साथ अघि बढेर मेहनत नगरेसम्म बिकाश हुन नसक्ने मन्त्री दुलालको भनाई थियो ।
साथै यस बिद्यालयले छोटो समयमै गरेको यो प्रगती र प्राप्त गरेको सफलता देख्दा खुशी लागेको बताउँदै अझ सफलताको शुभकामना पनि ब्यक्त गर्नुभयो ।