इन्द्रावती साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः रामशरण गिरी

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट रामशरण गिरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको छ। अधिवेशनले पूर्वअध्यक्ष गिरीलाई पुनः अध्यक्षमा चयन गर्दै आगामी कार्यकालका लागि सहकारीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा पूर्ण बानियाँ, सचिवमा भूपेन्द्र बानियाँ र कोषाध्यक्षमा पार्वती थापा चयन हुनुभएको छ। त्यसैगरी, सञ्चालक समितिको सदस्यमा सानो कान्छा सुनार र सम्झना अधिकारी चयन हुनुभएको छ।

यसैगरी, लेखा समितिको संयोजकमा भरत मल्ल ठकुरी चयन हुनुभएको छ भने सदस्यमा विदुर बानियाँ र अञ्जना ठकुरी चयन हुनुभएको छ।

नवनिर्वाचित समितिले सहकारीमा आबद्ध सेयर सदस्यहरूको हकहित संरक्षण, कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन र किसानको आयआर्जन वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। साथै, सदस्यहरूबीच आपसी सहकार्य र एकतालाई सुदृढ बनाउँदै सहकारीको संस्थागत विकासमा जोड दिने विश्वास लिइएको छ।

कृषि तथा पशुपालनमा संलग्न किसानलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्ने, उनीहरूको आर्थिक अवस्था सुधार गर्ने तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्ने विषय सहकारीका महत्त्वपूर्ण कार्यक्षेत्रका रूपमा रहेका छन्। यसका लागि नवनिर्वाचित समितिले सदस्यहरूको आवश्यकता र हितलाई केन्द्रमा राख्दै सहकारीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

सहकारीको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै नेतृत्व चयनमार्फत सहकारीको संस्थागत विकास र सदस्यहरूको आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ।

Leave a Reply