मेलम्चीमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । मेलम्ची नगरपालिकाको आयोजना तथा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण सेवा सुरु भएको हो ।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर) र नगर प्रमुख आइतमान तामाङको ब्लड प्रेसर र सुगर परिक्षण गरि शिविरको सुभारम्भ गरिएको दिर्घायु गुरु हस्पिटलका प्रबन्ध निर्देशक बिनोद खड्काले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन गर्दै सांसद तामाङले यस भेगमा स्त्री रोगका बिरामीहरु धेरै भएकाले उहाँहरुको उपचारमा सहजता प्रदान गर्न आग्रह गर्नुभयो । रोग भएपनि लुकाएर बस्ने र उपचार नगर्ने गर्नाले गम्भीर खालको स्वास्थ्य समस्या आउने गरेको भन्दै उहाँले विशेष चासो दिएर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद तामाङले स्थानीय तहले सिफारिस गरेका बिरामी हरुको उपचारमा आगामी दिनमा सिफारिस अनुसार सहयोग गर्न आग्रह गर्दै सेवा लिनका लागी उपस्थित बिरामी हरुलाई नडराइ र नलजाइ आफ्नो समस्या राख्नका लागी सुझाउनुभयो ।
कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले शिविरका लागि आउनुभएका दिर्घायु अस्पतालका डाक्टरहरुलाई स्वागत गर्दै मेलम्ची नगरपालिकाले यस अघिपनि विभिन्न वडा,गाउँ,टोलमा गएर शिविर गरेको स्मरण गर्नुभयो । उहाँले आजबाट मेलम्ची नगरपालिका र दिर्घायु अस्पताल बिच नयाँ सम्बन्ध स्थापना भएकोमा खुशी व्यक्त गर्दै निम्नस्तरका बिरामी हरुको उपचारमा अस्पतालले सहयोग गर्छ भन्नेमा आफु बिश्वस्त रहेको बताउनुभयो । नगरवासिको स्वास्थ्य स्वस्थ बनाउने दायित्व नगरपालिकाको भएकाले त्यहीँ अनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागी आफु निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका तामाङले यहाँका नागरिकलाई सेवा दिनका लागी काठमाडौ देखी आउनुभएका डाक्टर हरुलाई स्वागत र धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । दिर्घायु गुरु हस्पिटलका अध्यक्ष तथा प्रोफेसर डाक्टर स्वयंप्रकाश पण्डितले अस्पतालले दिने गरेका सेवाका बारेमा जानकारी गराउदै मेलम्ची नगरपालिका संग समन्वय गरेर काम गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले पैसा नभएर मृत्यु वरण गर्नुपर्ने स्थितिको अन्त्यका लागि अस्पताल सधैं लागिरहेको बताउनुभयो । जुनसुकै अवस्थामा पनि विरामिको ज्यान जोगाउनका लागी अस्पताल सधैं तयार भन्दै डाक्टर उप्रेतीले सहज रुपमा धेरैलाई सेवा पुर्याउने उदेश्यले काम गरिरहेको जानकारी दिनुभयो । शिविर बाट छनोट भएका बिरामी हरु लाई आगामी दिनमा गर्नुपर्ने स्वास्थ्य उपचार लगायत सहयोगका बारेमा सधैं तयार रहेको उहाँले उद्घोष गर्नुभयो ।