रेडियो मिसन, गुफाडाँडा ।
मेलम्ची नगर उद्योग वाणिज्य संघ द्वारा नव वर्ष २०८० को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम मेलम्ची नगरपालिका ९ गुफाडाँडामा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम गुफाडाँडामा आयोजना गरिएको संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो ।
वर्षमा एक पटक खुसी साटासाट गर्न यो कार्यक्रम गरिएको र यस्ता स्थानीय स्तरमै गरिने कार्यक्रमले पर्यटन प्रवर्द्धन गर्नको लागि नगर उद्योग वाणिज्य संघले सहयोग गर्ने बताइएको छ । संघले व्यवसायीको हक हितको लागि काम गर्दै आएको छ । बनभोज कार्यक्रममा १ लाख ५० हजार खर्च भएको आर्थिक संयोजक हरि प्रसाद धितालले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै संघका अध्यक्ष पुष्कर प्रसाद धितालले व्यापारीहरूलाई विपद पर्दा संघले सहयोग गर्दै आएको बताउनुभयो । आगलागी, बढी पहिरो जस्ता विपत्तिमा व्यापारीहरूलाई सहयोग गरेको धितालले बताउनुभयो । उहाँले कोभिड तथा बाढीले गर्दा मेलम्ची बजारको व्यापार ठप्प हुँदा बैङ्कले पनि व्यापारीलाई पेल्ने गरेको गुनासो गर्नुभयो । बजारका पसलहरूमा भाउ फरक हुँदा ग्राहकले कालोबजारी भन्ने बताउँदै समान दरभाउमा समान बेच्नुपर्ने धारणा राख्नुभयो । इन्द्रावती र पाँचपोखरी गाउँपालिका सँग व्यापारिक केन्द्र मेलम्चीलाई जोड्ने मेलम्ची नवलपुर पुल निर्माण गर्न सरकार संग संघले जोडदार माग गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनको लागि टेवा पुगेको बताउनुभयो । गुफा डाँडा लाई पर्यटकीय हव बनाउनको लागि डिपिआर भइसकेको बताउँदै खड्काले गुफाडाँडामा बुद्धपार्क, शिव मन्दिर सहित चिल्ड्रेन पार्क समेत बन्ने बताउनुभयो ।
मेलम्ची नगरपालिका वडा नम्बर ११ का अध्यक्ष चन्द्र बहादुर तामाङले गुफाडाँडालाई पर्यटकीय केन्द्र बनाउन पूर्वाधार निर्माणको क्रम जारी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस मेलम्ची ११ का सभापति कुमार दुलालले सबैको साझा धारणा बनाएर योजना बनाउँदै मेलम्ची पुननिर्माण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । मेलम्ची ११ माओवादी केन्द्रका अध्यक्ष ज्ञान प्रसाद सापकोटाले मेलम्ची नगर उद्योग वाणिज्य संघले मेलम्चीमा पुल निर्माणको लागि पहल गर्नुपर्ने बताउँदै यसका लागी संघ र प्रदेश सम्म डेलिगेसन गर्न समेत पछि पर्न नहुने धारणा राख्नुभयो ।