रेडियो मिसन, नवलपुर ।
बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । सिन्धु विकास बैंकद्वारा आयोजित कार्यक्रममा करिब १०० जना छात्रछात्रा सहभागी रहेका बैङ्कका मेलम्ची शाखाका प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम बैङ्कले सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बैङ्कका नायव महाप्रबन्धक प्रमोद न्यौपानेले ऋण, बचत, लगानी लगायत विषयमा जानकारी गराउनुभयो ।
कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मदत गर्ने विश्वास बैङ्कले लिएको छ ।
त्यस्तै डिजिटल बैङ्किङ बारे बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसीले जानकारी गराउनुभएको थियो । समाजका हरेक व्यक्ति वित्तीय रुपमा सचेत भएमा मात्र देश समृद्ध हुने बताउँदै इन्द्रेश्वरी माबिका प्रधानाध्यापक देवी श्रेष्ठले आयोजक सिन्धु विकास बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
साथै वित्तीय साक्षरता सम्बन्धी हाजिरी जबाफका विजेता लाई पुरस्कार तथा स्टेश्नरी सामग्री समेत वितरण गरिएको थियो ।
सिन्धु विकास बैङ्क सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैङ्कको रुपमा स्थापित बैङ्क हो । यसले आफ्नो ५ वटा कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाहरूमा २५ वटा शाखा कार्यालयहरू र एउटा सीमित बैङ्किङ ईकाइबाट बैङ्किङ सेवा प्रदान गर्दै आईरहेको छ ।