मेलम्चीले चालु आर्थिक वर्षको छ महिनामा साँढे ४४ करोड भन्दा बढी खर्च गर्‍यो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा देशमै चौथो स्थान हाँसिल गर्न सफल सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा ४४ करोड ७० लाख ६२ हजार पाँच सय रुपैया खर्च गरेको छ ।

नगरसभाको १५ औं हिउँदे अधिवेशनमा नगर प्रमुख आइतमान तामाङले नगरले छ महिनाको अवधीमा उक्त रकम खर्च गरेको बताउनुभएको हो । जसमा चालु खर्च २७ करोड दुई लाख ५९ हजार आठ सय र पूँजीगत तर्फ १७ करोड ६८ लाख दुई हजार छ सय रुपैया खर्च भएको तामाङले नगरको प्रगति प्रतिवेदनमा उल्लेख गर्नु भएको छ । नगरले यो अवधिमा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, नगरको आन्तरिक आम्दानी समेत गरी ५३ करोड ८७ लाख ४५ हजार तीन सय रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख तामाङले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार गत माघ मसान्तसम्म नगरले २१ करोड २० लाख १३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । नगरले ६५ करोड आन्तरिक राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ । 

नगरपालिकाले कृषकहरूलाई प्रोत्साहन गर्न सुरु गरेको पशु बिमा कार्यक्रममा ५० प्रतिशत अनुदान बापत दुई लाख ५० हजार रुपैयाँ वितरण गरेको जनाएको छ । पशु पालक किसानलाई राहत प्रदान गर्न सुरु गरिएको सुत्केरी पशु प्रोत्साहन कार्यक्रम मार्फत किसानहरूलाई १४ लाख २३ हजार रुपैयाँ प्रदान गरिएको प्रमुख तामाङले बताउनुभयो । बैङ्किङ प्रणाली मार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता रकम चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि विद्युतीय भुक्तानी प्रणालीको माध्यमबाट वितरणको व्यवस्था मिलाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्याङ्कनमा ५३ दशमलव ८४ अङ्क प्राप्त गरेर देशमै चौथो स्थान हासिल गरेकोमा जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिँदै नगरप्रमुख तामाङले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने गरी लाग्न आग्रह गर्नुभएको थियो ।

सभाले उपप्रमुख उमा प्रधानले पेश गरेको नगरपालिकाको आर्थिक ऐन २०८० संशोधन विधेयक तथा विनियोजन ऐन २०८० को संशोधन विधेयक र आर्थिक वर्ष २०८०/८१ को संशोधित बजेट पारित गरेको थियो । सभामा पेश भएको विभिन्न ११ प्रस्तावहरू सभाले सर्वसम्मत पारित गरेको थियो ।

Leave a Reply