सिन्धुपाल्चोकका १२ पालिका मध्ये कार्यसम्पादन मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोकका समग्र स्थानीय तहमध्ये मेलम्ची नगरपालिका ५३.८४ अंक सहित पहिलो भएको हो । त्यस्तै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित दोस्रो भएको छ । पाँचपोखरी थाङ्गपाल गाउँपालिका ४९.३६ अङ्क सहित तेस्रो भएको छ ।
यस्तै ४८.०१ अङ्क सहित सुनकोशी गाउँपालिका चौथो भएको छ । जिल्लाकै त्रिपुरा सुन्दरी गाउँपालिका ४५.८८ अङ्क सहित पाँचौं भएको छ । लिसंखु पाखर गाउँपालिका ४३.६६ अङ्क सहित छैटौं भएको छ । बलेफी गाउँपालिका ३९.७० अङ्क सहित सातौँ भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ३८.३२ अङ्क सहित आठौं भएको छ । जुगल गाउँपालिका ३७.१२ अङ्क सहित नवौँ स्थानमा रहेको छ । हेलम्बु गाउँपालिका ३२.३५ अङ्क सहित दशौँ स्थानमा रहेको छ । इन्द्रावती गाउँपालिका ३०.५८ अङ्क सहित एघारौं स्थानमा रहेको छ भने बाह्रबिसे नगरपालिका ३०.२५ अङ्क सहित तालिकाको पुछारमा रहेको छ ।
कार्यसम्पादन मुल्याङ्कनमा देशभरीबाटै सिन्धुपाल्चोकका ३ पालिका शीर्ष १० भित्र पर्न सफल भएका छन ।
कार्यसम्पादन मूल्यांकनमा देशभरिका समग्र स्थानीय तहमध्ये सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौँथो भएकाे छ ।
आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा देशभरिका समग्र स्थानीय तहमध्ये सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अङ्क सहित चौँथो भएको छ । त्यस्तै सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अङ्क सहित पाचौँ भएको छ । सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९.३६ अङ्क सहित नवौँ भएको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मूल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन् ।
स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने बताईएको छ । यो मूल्याङ्कनलाई स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धाको रुपमा पनि हेर्ने गरिन्छ ।