रेडियो मिसन, पाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक स्थल जय बागेश्वरी पाल्चोकी माईको मन्दिरमा नेपालकै ठुलो घण्ट बन्ने भएको छ । आज शनिवार एक कार्यक्रमका बिच प्रकाश मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलो घण्टको शिलान्यास गर्नुभएको हो । पाल्चोकमा निर्माण हुने घण्ट ६ हजार किलोको हुने जय वागेश्वरी पाल्चोकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समितिले जानकारी दियो । हाल नेपालकै ठुलो ५५५५ किलोको घण्ट बागलुङमा रहेको छ । पाल्चोकमा बन्ने घण्ट ६००० किलोको रहने र २ वर्षमा बनाउने लक्ष्य लिएको जय वागेश्वरी पाल्चोकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समितिले जनाएको छ ।
ठुलो घण्ट निर्माणको लागी प्रमुख अतिथि प्रकाश भुजेलले २० लाख २० हजार दिनुभएको छ । “बाबाको तर्फबाट १० लाख, आमाको तर्फबाट १० लाख र मेरो तर्फबाट २० हजार सहयोग गर्छु”, उहाँले भन्नुभयो । आजै भुजेलले २ लाख २० हजार नगर र १८ लाखको चेक समितिलाई हस्तान्तरण गर्नुभएको छ । “अब म जस्तो सहयोग गर्नेहरू लाईन लागेर आउनेछन्”, भुजेलले भन्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै पण्डित नारायण प्रसाद खनालले पाल्चोक सम्म आउने बाटो राम्रो बनाउन पर्ने बताउनुभयो । “यहाँ खानेबस्ने राम्रो व्यवस्था होस”, उहाँले भन्नुभयो, यसले पर्यटन प्रवर्द्धन लाई टेवा पुग्ने छ । ९ वटा देवीहरूको पूजा गरेर नवाहा ज्ञान महायज्ञ समेत गरिने खनालले जानकारी दिनुभयो । घण्ट बनाउन ३ करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ ।
श्री जयवागेश्वरी पाल्चोकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मूल समितिको आयोजनामा भोलि बाट फागुन ६ गते आइतबार सम्म नवाहा ज्ञान महायज्ञ पं श्री राम कृष्ण सुवेदी तथा श्री नारायण प्रसाद खनालको मुखार बृन्दबाट हुनेछ । पाल्चोकमा नेपालकै ठुलो घण्ट निर्माणको लागि विष्णु बहादुर बराइलीले ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सहयोग आउने क्रम जारी रहेको घण्ट व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिनुभयो ।