नागरिकलाई सेवा दिने कुरामा कुनै कन्जुस्याइँ हुँदैन : नगर प्रमुख तामाङ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकलाई सेवा दिने कुरामा कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ । उहाँले जुनसुकै क्षेत्रमा पनि सरल र सहज रुपमा सेवा प्रवाह गर्ने कुरामा नगरपालिका लागि रहेको बताउनुभयो ।

तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको स्थानीय परियोजना सल्लाहकार समिति बैठकमा नगर प्रमुख तामाङले तिलगङ्गाको जस्तै सेवा मेलम्ची बाट प्रवाह गर्नेगरी काम गर्न नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले नगरको दायित्व र जिम्मेवारी पुरा गर्न नगर पालिका सँधै तयार रहेको भन्दै विद्यालय र समुदाय स्तरमै पुगेर सामान्य सेवा दिन सकेमा अझै फाइदा पुग्ने बताउनुभयो ।

धेरै भन्दा धेरै सेवा प्रवाह गर्ने नगरको योजना रहेकाले सोही अनुसार कार्य गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा तिलगंगा सामुदायिक आँखा केन्द्रका बाह्य कार्यक्रम व्यवस्थापक डाक्टर मोहन कृष्ण श्रेष्ठले मेलम्ची सहित हाल सम्म ३७ वटा स्थानीय तहमा सेवा सञ्चालनमा रहेको जानकारी गराउँदै समुदाय स्तरमा गर्ने कामहरूमा आगामी दिनमा पनि समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख डाक्टर आशिष भट्टले मेलम्ची सेवा केन्द्र मार्फत दिने गरेको सेवाहरूको बारेमा जानकारी गराउनुभयो । उहाँले स्थापना देखि हालसम्म दिएको सेवा र आगामी योजनाहरूको बारेमा प्रष्ट पार्नुभयो ।

केन्द्रले आँखा शिविर, निशुल्क शल्यक्रिया तथा शिविर, स्वास्थ्यकर्मी, विद्यालय शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका हरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान, ग्रामीण आँखा केन्द्र स्थापना तथा संचालन, विद्यालयमा आँखा जाँच तथा परिक्षण लगायतका क्षेत्रमा काम गरिरहेको संस्थाले जनाएको छ । कार्यक्रममा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने सहजिकरण आलोक खनालले गर्नुभएको थियो ।

Leave a Reply