मेलम्ची नगरपालिका भित्रका एकल महिलाहरूलाई सीपमुलक तालिम सञ्चालन गरि आत्म निर्भर बनाउने विषयमा छलफल भएको छ ।
मेलम्ची नगरपालिकास्तरीय एकल महिला सञ्जालका अध्यक्ष सुनिता पराजुली देउजाको अध्यक्षतामा बैठक बसी नगरपालिका भित्रका वडा स्तरीय एकल महिला सञ्जाल गठन गर्न बाँकी रहेका सबै वडामा सञ्जाल गठन गर्ने र सबै वडाका सञ्जालका प्रतिनिधिहरू सम्मिलित गरि नगरस्तरीय एकल महिला सञ्जाल अन्तरक्रिया कार्यक्रम सञ्चालन विषयमा छलफल भएको हो ।
बैठकमा अन्तरक्रियाका आधारमा एकल महिलाहरूको वडा गत तथ्याङ्क संकलन गरि माग र आवश्यकताका आधारमा आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरूको लागि सीपमुलक तालिम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, सामाजिक विकास समितिका अध्यक्ष अमृत खनाल, प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल, महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखाका शाखा प्रमुख राजेन्द्र दुलाल, नगरपालिकाका कर्मचारी र सञ्जालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।