महिला आत्म निर्भरता केन्द्रले इन्द्रावती ४ का टाकुरे आगलागी पीडितलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ ।
आज महिला आत्म निर्भरता केन्द्रका अध्यक्ष सञ्चमाँया स्याङ्बो, कार्यकारी निर्देशक कृष्ण गुरुङ, फेयरमेडका परियोजना प्रमुख शोभाराम भण्डारी, वडा नम्बर ४ का वडा सचिव मदन कुमार भट्टराई लगायतको उपस्थितमा सहयोग हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री सावित्री गजुरेललाई हस्तान्तरण गरिएको हो ।
महिला आत्मनिर्भरता केन्द्र र फेयरमेड नेपालको संयुक्त साझेदारिमा सञ्चालित सिन्धु स्वास्थ्य परियोजनाले संयुक्त रुपमा सहयोग गरेको हो । हस्तान्तरणको क्रममा अध्यक्ष सञ्चमाँया स्याङ्बोले आवास पुननिर्माणको चरणमा पनि सहयोग गर्ने बताउनुभएको छ । यस्तै कार्यकारी निर्देशक कृष्ण गुरुङले विपदको समयमा आपतकालीन सहयोग गरेको बताउनुभयो । साथै पुर्नस्थापनाको चरणमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाको तर्फबाट कुल पन्ध्र हजार तीन सय पैँतालीस रुपैयाँ सहयोग गरिएको थियो ।
शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घरसँगै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नष्ट भएको थियो ।
आगलागी बाट १ हजार कुखुरा सहितको टहरो जलेर नष्ट भएको थियो भने ४ कोठाको घर र घरमा रहेका सामानहरू जलेर नष्ट भएको थियो । आगलागीका कारण अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।