इन्द्रावती गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको समन्वयमा हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको यस पटक एसेलुखर्क माद्यामिक बिद्यालयले आयोजना गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खेलकुद क्षेत्रमा समृद्दी प्राप्त नगरी मुलुकले आम समृद्धि प्राप्त गर्न नसकिने बताउनुभएको छ । विकास र समृद्धिको यात्रालाई व्यवहारमा रूपान्तरित गर्न खेलकुद क्षेत्रको विकास र विस्तारका साथै यसको सुदृढीकरण गर्नु पालिकाको प्रमुख जिम्मेवारी र दायित्व रहेको उहाँले बताउनुभएको छ। स्थानीय देखि अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि यस्ता खालका प्रतियोगिताहरू गर्न विद्यालय, वडा, पालिका लगायत सबैले चासो दिन आवश्यक रहेको बताउँदै अध्यक्ष नेपालले खेलाडी राष्ट्रको गहना भएकोले यसलाई बलियो बनाउन विद्यालय स्तरदेखिनै खेलकुदलाई महत्त्व दिनुपर्ने उहाँको भनाइ छ । त्यस्तै स्वस्थ र स्वच्छ प्रतिस्पर्धाले मात्रै श्रेष्ठता हासिल गर्न सकिने भएकोले अनुशासित भएर खेलमा सहभागी हुन अनुरोध पनि गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष शोभाना तामाङले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकोले बिध्यालयले पढाइमा मात्रै नभई खेल क्षेत्रलाई प्राथमिकता दिन पर्ने बताउनुभयो । खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देशलाई समेत चिनाउन सहयोग पुर्याउने भएकोले यसलाई सबैले महत्वका साथ हेर्नुपर्ने बताउनुभयो । साथै स्वास्थ्य र शारीरिक विकासको लागि पनि खेल आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रमको अवसरमा आफ्नो भनाई राख्दै वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरीले अनुशासित भएर खेल कौशल देखाउन र उत्कृष्टता हासिल गर्न शुभकामना दिनुभयो।
उद्घाटन सत्रको मापन गर्दै कार्यक्रमका सभापति तथा ऐसेलुखर्क माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना थापाले खेलाडी राष्ट्रको गौरव भएको बताउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट व्यक्ति भन्दा पनि महत्व दिने भएकोले त्यो लक्ष्य लिएर अनुशासित भएर खेलमा सहभागी हुन अनुरोध गर्नुभयो । देशमा अहिले खेल र खेलाडीको पनि महत्त्व बढ्दै गएको बताउँदै खेलाडीहरुले पनि मेहनतका साथ अगाडि बढ्न पर्ने बताउनुभयो। साथै कार्यक्रम आयोजना गर्न सबै विद्यालय लगायत सबै पक्षको साथ र सहयोग प्राप्त भएको र यो साथ र सहयोग प्रतियोगिता समापन सम्म पनि पाइरहने अपेक्षा गर्नुभएको छ ।
१६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भरिका १२ ओटा माध्यमिक बिद्यालयका विद्यार्थीहरुले भलिबल कराँते र एथलेटिक्सका गरि २६ ओटा खेलमा सहभागीता जनाउनेछन ।
एथलेटिक्स र कराँतेका खेल एसेलुखर्क रंगशालामा र भलिबल खेल एसेलुखर्क माध्यमिक बिद्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।