रेडियो मिसन, नवलपुर ।
श्री सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्मजयन्तीको अवसरमा सुरु गरिएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज पाँचौँ दिनमा चलिरहेको छ । पुष १ गते देखि सुरु भएको महायज्ञमा बुधवार चौथो दिन सम्म आइपुग्दा १७ लाख भन्दा बढी संकलन भएकोे विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद आचार्यले जानकारी दिनुभयो । दैनिक करिव पाँच सय भन्दा बढी सहभागी हुने गरेको र यो बढ्ने क्रम जारी रहेको पनि उहाँले जानकरी दिनुभयो । स्वदेश तथा बिदेशबाट बिद्यालयका भुपु बिद्यार्थी, तथा भुपु शिक्षक लगायत बिभिन्न संघ सँस्थाहरुबाट पनि सहयोग आउनेक्रम जारी रहेको बिद्यालयले जनाएको छ ।
दाताहरुले पाँचसय देखि दुई लाख भन्दा बढी सम्म दान गर्ने गरेको विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद आचार्यले जानकारी दिनुभयो । हालसम्म पूर्व गृह राज्यमन्त्री विष्णु विक्रम थापाबाट सबैभन्दा बढी दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ सहयोग आएको र उहाँले आफ्नो जीवनकाल भरी नै विद्यालयलाई वार्षिक एक लाख सहयोग गर्ने बचनबद्धता गर्नुभएको पनि उहाँले जानकरी दिनुभयो ।
विद्यालयलाई गुरुकुलसहित आवासीय रूपमा सञ्चालन गर्नका लागी अक्षयकोष स्थापनाका लागी गरिएको ज्ञान महायज्ञबाट एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोले यसमा सबैले सहयोग गरि पुण्य कमाउन पनि प्रधानाध्यापक आचार्यले सबैमा आह्वान गर्नुभयो ।
महायज्ञमा प्रत्येक दिन बिहान पौने ८ बजेबाट पूर्वाङ्ग पछि भागवत सुरु हुँदै भजन किर्तन तथा झाँकीहरु पनि प्रस्तुत हुँदै आएको र सहभागीहरुलाई सम्मान तथा भोजनको समेत ब्यवस्था रहेको आचार्यले जानकारी दिनुभयो । वि.सं. १९६० सालमा स्थापना भई वेदसहितको संस्कृत शिक्षा अध्ययन र अध्यापन गराउँदै आएको विद्यालयमा चलिरहेको श्रीमद भागवत ज्ञान महायज्ञको पौष ८ गते समापन हुने बिद्यालयले जनाएको छ ।