रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिकाले किसानहरुलाई मिनिटिलर र कर्नसेलर बितरण गरेको छ । आज एक कार्यक्रमका बिच २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको हो ।
मिनिटिलर वितरण गर्दै नगरप्रमुख आइतमान तामाङले आधुनिक प्रविधि मार्फत खेती गर्दै ब्यवसायीक बन्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले किसानहरुलाई विविध समस्या रहेको उल्लेख गर्दै ति समस्या समाधानका लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिका वडा नम्बर ११ का २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको कृषि विकास शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो। जरायटार साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्री मिनिटिलर र कर्नसेलर वितरण गरिएको हो ।
कार्यक्रममा किसानहरुले ट्याक्टर सँगै कोदो कुट्ने र गहुँ झार्ने मेसिनको समेत आवश्यकता रहेको बताएका थिए । नगर प्रमुख तामाङले समुहगत रुपमा आउने मागहरुलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको जानकारी दिनुभयो।
वितरण कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, वडा सदस्य प्रतिमा धिताल, सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
