ज्यामिरेमाने । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा ६७ धारा निर्माण गरिएकाे छ । ज्याफ्स (JAFS) संस्थाद्वारा धारा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।
एक घर एक धारा अन्तर्गत अनुमानित १० लाखको लागतमा निर्माण भएको उक्त सङ्ख्याको धारा वडा अध्यक्ष डिल बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । यस आयोजनाबाट वडा नम्बर ८ को माख्लो गहतेका स्थानीयहरूलाई पानीको समस्याबाट मुक्त गर्न सफल भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ।
खानेपानी धारा वितरण कार्यक्रममा ज्याफ्सका प्रतिनिधि नोरीका यासुकी मल्लले यस स्थानका नागरिकहरूलाई खानेपानीको समस्या समाधान गर्न पाउँदा खुसी लागेको र यस अभियानमा सहयोग गर्ने जापानका साथीहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभयो।
सहयोगी संस्थालाई यस सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै वडाध्यक्ष डिल बहादुर श्रेष्ठले वडामा रहेका विभिन्न समस्याहरु मध्ये रहेको खानेपानीको समस्यालाई केही हदसम्म सहज बनाउन यसले सहयोग पुगेको बताउनुभयो । साथै निर्वाचनको बेला गरेका विभिन्न बाचाहरूमध्ये खानेपानीको समस्या समाधान पनि रहेको बताउँदै निर्वाचित भएपछि वडामा १५० भन्दा बढी धाराहरु निर्माण गरी खानेपानी आपूर्ति गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । अबको एक वर्षभित्रमा वडाका सबै घरहरूमा खानेपानी सहितको धारा पुर्याउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा इन्द्रावती गाउँपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष जीवनकुमार थापा मगरले बाँकी बस्तीहरूमा पनि खानेपानीको समस्या समाधानका लागि संस्थासँग पहल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जापानी संस्था ज्याफ्सले गाउँपालिकाका विभिन्न वडाहरूमा खानेपानी कृषि लगायत विभिन्न क्षेत्रहरूमा काम गर्दै आइरहेको छ ।


