तपचुली सामुदायिक कृषि सहकारीको १४ औँ साधारणसभा तथा ५ औँ अधिवेशन सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

भाेटेचाैर । तपचुली सामुदायिक कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची नगरपालिका–१ भोटेचौरको १४ औँ वार्षिक साधारणसभा तथा ५ औँ निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले सहकारी स्थापना कालमा भोग्नुपरेका कठिनाइ स्मरण गर्दै, आज सहकारीले आफ्नै मूल मर्मअनुसार कृषकहरूको आर्थिक विकासतर्फ उल्लेखनीय प्रगति गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाबाट सहकारी ऐन ल्याई निष्क्रिय सहकारीहरू मर्ज गर्ने तयारी रहेको जानकारी दिनुभयो । साथै नगरभित्र सञ्चालित सहकारीका सदस्यहरूले मागअनुसार विभिन्न बिरुवा वितरण गरिएको बताउँदै, सहकारीलाई उकास्न सेयर सदस्यको भूमिका महत्वपूर्ण हुने हुँदा लिएको ऋण समयमै फिर्ता गर्न र बचत प्रवद्र्धन गर्न आग्रह गर्नुभयो। नगरपालिकाबाट सहकारीका लागि सधैं सहयोग रहने उल्लेख गर्दै, कुनै कमी–कमजोरी भए नगरपालिकाको ढोका ढकढक्याउन अनुरोध गर्नुभयो। नेपाल कृषि प्रधान देश भएकाले सहकारीले कृषक हित र कृषि विकासमा अतुलनीय भूमिका खेलेको भन्दै नव–निर्वाचित नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि बागमती प्रदेश कृषि सहकारी संघका सचिव मित्रलाल चौलागाईंले ऋण लिएको उद्देश्यअनुसार मात्रै खर्च गरी ब्याजसहित समयमै फिर्ता गरे सहकारी र सञ्चालक समितिलाई सहज हुने बताउनुभयो । सहकारी आर्थिक उपार्जनको भरपर्दो माध्यम भएकाले सबैलाई बचत गर्ने बानी बसाल्न आग्रह गर्नुभयो । स्थानीय सरकारले कृषिमा बजेट वृद्धि गरी कृषकको मनोबल उकास्नुपर्नेमा जोड दिँदै, बाँझो जमिनमा खेती विस्तार गर्न र गाउँ फर्किने वातावरण बनाउन आग्रह गर्नुभयो । नवगठित समितिले अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।

संस्थामा हाल १ करोड ३५ लाख ८३ हजार ९९६ रुपैयाँ बचत, १९ लाख २६ हजार ४०० रुपैयाँ सेयर पूँजी रहेको छ । एक हजार दुई सय सदस्य रहेको संस्थाको कुल ऋण लगानी १ करोड ७२ लाख ५० हजार ५४३ रुपैयाँ रहेको जानकारी कोषाध्यक्ष मदन थापाले दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु ढुंगानाले वार्षिक प्रगति प्रतिवेदन, तथा लेखा सुपरिवेक्षण समितिका संयोजक राजकुमार पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस अवसरमा उत्कृष्ट विद्यार्थी विपिन चौलागाईं, सन्दिप खतिवडा र अनुषा चौलागाईंलाई जनही १हजार ५०० रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । साथै कार्यक्रममा राष्ट्रिय कलाकार भिमसेन खतिवडा, सानु केसी लगायतको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।

यसैबिच अाजै भएकाे ५ औँ अधिवेशनबाट मदन थापा सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ।

अधिवेशनबाट उपाध्यक्षमा निलकण्ठ खतिवडा, सचिवमा बिनोद चौलागाईं तथा कोषाध्यक्षमा सरस्वती सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा खिलबहादुर वाइबा, ऋषिराम चौलागाईं, अजय थापा, सारदा ढकाल चौलागाईं, लालाचन्द्र खतिवडा, बचुराम कार्की र ढल कुमारी बन्जरा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक कृष्ण मुरारी चौलागाईंले जानकारी दिनुभयो।

यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा विष्णु प्रसाद ढुंगाना तथा सदस्यहरूमा रामचन्द्र दंगाल र चुडामणि चौलागाईं निर्वाचित हुनुभएको छ। ऋण उपसमितिमा अम्बरबहादुर तामाङ र शिवराम चौलागाईं निर्वाचित हुनुभएको छ भने शिक्षा उपसमितिको संयोजकमा राजकुमार पाण्डे तथा सदस्यहरूमा इन्दिरा खतिवडा र चिरञ्जीवी खतिवडा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक चौलागाईंले जानकारी दिनुभयो। नव–निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष रहने छ।

Leave a Reply