खानेपानी मन्त्री महेन्द्र राय यादवले मेलम्चीको पानी पथान्तरणका लागी तिव्र गतिमा काम भइरहेको बताउनुभएको छ । आज खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान पुगेर मन्त्री यादवले विभिन्न समस्याका बावजुद पनि अहिले सन्तोष जनक हिसाबले काम भइरहेको बताउनुभयो ।
“ठेकेदारले काम नगर्ने भनिरहेको छ,स्थानिय भेण्डहरुको समस्या पनि त्यतिकै मात्रामा छ त्यसमाथी पनि बाढीका कारण क्षति पुगेका संरचनाहरुको मर्मत संभार गर्नुपर्ने भएकाले केहि ढिला भएको हो ”मन्त्री यादवले प्रष्ट पार्नुभयो । उहाँले ठेकेदारले काम नगरेमा उपभोक्ता समिती बाट भएपनि काम गरिने प्रतिबद्धता जनाउनुभयो । हेलम्बु १ अम्बाथानको अुनुगमन पछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौैं बासीलाई पानी खुवाउने नै सरकारको योजना रहेको सुनाउनुभयो । एक दुई दिनभित्रमा सडक आयोजना स्थलमा पुग्ने यादवले बताउनुभयो ।
अुनगमनका क्रममा सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुवँरले बाढीले पुर्याएको क्षतिको एकिन भैनसकेकाले कतिदिन भित्रमा पानी काठमाडौं पुग्छ भनेर भन्न नसकिने बताउनुभयो । उहाँले प्राविधिक कुराहरु थुप्रै भएकाले अहिलेनै यतिदिन भित्र भनेर भन्न नसकिने बताउँदै १ महिनाको आसपासमा पानी पथान्तरण गर्न सकिने अनुमान गर्नुभयो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पानी पथान्तरणका लागी स्थानिय सरकारले सहयोग गरिरहेको बताउनुभयो । उहाँले आफ्ना केही माग भएकाले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएको बताउँदै ति मागहरुको सम्बोधन हुनुपर्ने बताउनुभयो । स्थानिय तहमा विकास निमार्णको काम,स्थानियले पाउने लेवि लगायतका विषयमा सरकारले सम्बोधन नगरे अर्को बर्षदेखि आयोजनालाई सहयोग नगर्ने अध्यक्ष शेर्पाले चेतावनी दिनुभयो ।
अनुगमनमा मन्त्रालयका सचिव आम आधार शाह,अन्य कर्मचारी,सुरक्षा निकाय,पत्रकार लगायतको उपस्थिति थियो ।
