बाढीबाट प्रभावित जिल्लाको पुरानो र हेलम्बुको केन्द्रमा अवस्थित सरस्वती माध्यमिक विद्यालयलाई विश्व समावेशी साहसी संस्थाले किचेन सामग्री हस्तान्तरण गरेको छ ।
हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित ग्याल्थुममा रहेको विद्यालय लाई गत भदौं ७ र८गते मेलम्ची खोलामा आएको बाढीले क्षती पुर्याएको थियो । बाढीका बेला सो संस्थाले किचेन ब्यबस्थापनका लागी आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार अहिले सामग्री उपलब्ध गराएको रास्वपाकी जिल्ला संयोजक माया गुरुङले जानकारी दिनुभयो ।
संस्थाका गौरी मालाकार, माया गुरुङ र रास्वपाका स्थानिय नेताहरुको उपस्थितीमा विद्यालयलाई सो सामग्री हस्तान्तरण गरिएको रास्वपाका हेलम्बु सभापति दिनेश थापाले जानकारी दिनुभयो । पानी ट्यांकी , ग्यास सिलिन्डर , प्लेट , चम्चा ,पकाउने भाडा, वाटर डिस्पेन्सर लगायतका थुप्रै सामग्री उपलब्ध गराएको थापाको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक कुमार घोरासैनीले प्रतिबद्धता अनुसारको सामग्री उपलब्ध गराएको धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा समेत गर्नुभयो । संस्थाले मेलम्ची भ्याली क्याम्पसमा कक्षा ११÷१२ को छात्रालाई कम्प्युटर कक्षाको लागि निशुल्क शिक्षकको ब्यबस्थापन समेत गरिदिएको छ ।