नेपालमा नाम राखिने प्रचलन फरक फरक रहेको छ । कतिपयले जन्म दर्तामा राखिएको नाम समेत फेरेर अर्कै नाम राख्ने गरेको पाइन्छ । कतिको भने जन्म दर्तामा भएको र बोलीचालीमा फरक फरक नाम रहेको हुन्छ । नाम चयनका रमाइला कथा, कौशल र विविधता भएको पाइन्छ ।
त्यस्तै रमाइलो प्रसङ्ग मध्ये सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ खालेका एक दम्पतीले आफ्नो सन्तानको नाम अनौठो राखिदिएका छन् । प्रधानमन्त्री । भरखर जन्मिएका एक शिशुको जन्म दर्ता गर्न ३ नम्बर वडाको सम्पर्क कार्यालय रहेको गुम्बा डाँडामा पुगेका फुर्बा र सम्झनाले नवजात शिशुको नाम प्रधानमन्त्री तामाङ राखिदिएका छन् ।
अरू दुई छोरी सहित तीन सन्तानको जन्म दर्ता गराउन वडा सम्पर्क कार्यालय पुगेका ती दम्पतीलाई वडा सचिव सिम्रन नेपालले नाम के राख्ने भनेर सोध्नुभयो । फुर्बाले छोराको नाम प्रधानमन्त्री तामाङ राख्ने भनेर जवाफ दिनुभयो । फुर्वाको जवाफ सुनेर सचिव नेपालले ठट्टा गरेको होला भनेर पुनः सोध्नुभयो तर दम्पतीले नै त्यही नाम राख्ने भनेर आग्रह गरेपछि केही दिन अघि मात्र जन्मिएको शिशुको नाम प्रधानमन्त्री तामाङ राखेर जन्म दर्ता गरिदिएको सचिव नेपालले बताउनुभयो । उहाँका अनुसार ती दम्पतीले अरू दुई छोरीको समेत एलिला र एन्जिला नाम राखेर जन्म दर्ता गराएका छन् ।
फरक विशेषता र पहिचान गराउन छोराछोरीहरूको यस किसिमको नाम राखिएको प्रधानमन्त्रीका बाबु फुर्बाले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री २०८० मङ्सिर ५ गते जन्मिएका हुन् भने एलिशा र एन्जिलाको उमेर दुई–दुई वर्षको फरक छ ।
तीन सन्तानका बाबु फुर्बा केही वर्ष देखि फ्रान्समा रोजगारीको सिलसिलामा पुगेर बिदामा नेपाल आउनुभएको हो । सम्झना भने गाउँमै बस्दै आउनुभएको छ ।