बागमती प्रदेश सरकारद्वारा सिन्धुपाल्चोकका विभिन्न विद्यालयहरूलाई स्कुल बस उपलब्ध गराइएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा उपलब्ध गराइएको बस आइतबार इन्द्रेश्वरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिका–११ स्थित टारमा रहेको सो विद्यालयलाई बागमती प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री युवराज दुलाल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले संयुक्त रूपमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
विद्यालय बस हस्तान्तरण गर्दै मन्त्री दुलालले सामुदायिक विद्यालयलाई गुणस्तरीय साथसाथै सुविधा सम्पन्न बनाउने उद्देश्यले स्कुल बस कार्यक्रम सहयोग गरिएको बताउनुभयो । आफू सामाजिक विकास मन्त्री हुँदा उक्त योजना बनाएको बताउँदै जिल्लाका केही विद्यालयहरूमा सञ्चालन गरिएको समेत बताउनुभयो । उहाँका अनुसार तेर्से माध्यमिक विद्यालय, कुविन्डेको सेती देवी मावि र सानोसिरुवारीको सिद्विगणेश माविलाई बस हस्तान्तरण भइसकेको छ । त्यस्तै थाङ्पाल भ्याली पाँचपोखरी, लागर्चे, र चौतारालाई समेत बस उपलब्ध गराइएको मन्त्री दुलाले बताउनुभयो ।
यस्तै बागमती प्रदेशका ३० विद्यालय नमुना बनाउने कार्यक्रम अनुसार इन्द्रेश्वरी मावि पनि परेकाले यस विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्रको रूपमा अगाडि बढाएको बताउनुभयो । मन्त्री दुलालले भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार, स्वास्थ्यका पूर्वाधार लगायत हरेक क्षेत्रको विकास गर्नका लागी योजनाबद्ध हिसाबले अगाडि बढेको भन्दै यसको लागी स्थानीय तह र केन्द्र सरकार सँग निरन्तर सहकार्य भइरहने बताउनुभयो ।
कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विद्यालयमा बाह्रै महिना बस सञ्चालनका लागी नगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बस सञ्चालनका लागी थुप्रै चुनौतीहरू रहेको स्मरण गर्दै प्रमुख तामाङले प्रदेश सरकार सँग सहयोगको लागी आग्रह गर्नुभएको छ । विद्यालयका ज्येष्ठ सदस्य इन्द्रमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक देवी श्रेष्ठले विद्यालयमा सहयोगका लागी धन्यवाद व्यक्त गर्नुभयो ।