रेडियो मिसन ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि निशुल्क बस सेवा सुरुआत गरेको छ । एकीकृत सिकाइ केन्द्र, हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको हो ।
एकीकृत सिकाइ केन्द्रमा सरस्वती माध्यामिक विद्यालय, भूमेश्वरी माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालयका गरी कक्षा ११ मा १२३ जना र कक्षा १२ मा १०८ जना विद्यार्थी अध्ययनरत रहेको सिकाइ केन्द्रका संयोजक राजन लामिछानेले बताए । ति विद्यार्थीहरू मध्ये टाढाबाट आउने बालबालिकाले बस सेवाको सुविधा लिनेछन् । हेलम्बु गाउँपालिकाको गत वर्ष विनियोजित ६० लाख रुपैयाँबाट दुईवटा बस खरिद गरिएको हो ।
सरस्वती माध्यामिक विद्यालय र हेलम्बु मोडेल विद्यालयले एकएक वटा बस खरिद गरी सिकाइ केन्द्रलाई उपलब्ध गराएका हुन् । बस सञ्चालन गर्दा लाग्ने इन्धन, चालक तथा मर्मत खर्च समेत गाउँपालिकाले नै ब्यहोर्दै विद्यार्थीलाई भने निशुल्क सेवा दिनेछ । सिकाइ केन्द्रमा तीन वटै विद्यालयका विद्यार्थीहरूले एकै स्थानमा बसेर कक्षा लिइरहेका छन् । यसबाट सिकाइ प्रभावकारिता बढेको संयोजक लामिछानेले बताए । केन्द्रमा विद्यार्थीहरूले कक्षा १२ सम्म निशुल्क अध्ययन गर्न पाउनेछन् । विद्यार्थीलाई बस सेवा, खाजा तथा पोसाक समेत गाउँपालिकाले निशुल्क उपलब्ध गराइरहेको छ ।
दुइ वटा बस मध्ये एउटा बसले हेलम्बु ६, इचोकदेखिको विद्यार्थीलाई सेवा दिनेछ भने अर्को बसले वडा नं. ४ र ५ का विद्यार्थीलाई सुरुङ र वडा नं. २ किउल रुटमा पर्ने विद्यार्थीलाई सेवा दिनेछ । बसले सरस्वती माविका बालबालिकालाई सेवा दिने लक्ष्य राखिएको छ । विद्यालयले यसअघिबाटै भाडाको बसबाट सो सेवा दिइरहेकोमा हाल आफ्नै बसबाट सेवा दिन लागेको हो ।