रेडियो मिसन ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वरोजगार तथा दक्ष बनाउन विभिन्न सिप मुलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा आजबाट मेलम्चीमा सुरु भएको ४ महिने सिलाई कटाई तालिमको उद्घाटन गर्दै तामाङले सो कुरा बताउनुभएको हो । उहाँले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले तालिमपछि महिलाले गाउँघरमै टेलर स्थापना गरी आयआर्जन गर्नसक्ने बताउनुभयो । उहाँले थप विशेष तालिमबाट गार्मेन्ट कपडा,स्कुल ड्रेस, ज्याकेट लगायत सिलाई बाट आयआर्जन तथा प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि रिड र मेलम्ची नगरपालिकाले आधारभुत तालिम दिएका ३० जना सिमान्तकृत,जनजाति तथा अन्य महिला तालिममा सहभागी रहेको नगरपालिकाका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्रराज खरेलले तालिमलाई निरन्तरतन दिएमात्र सफल हुने भएकाले निरन्तर तालिममा आउँनका लागी आग्रह गर्नुभयो । अभिया तालिम केन्द्रका अध्यक्ष मिङ्मार तामाङले ४ महिना सम्म दैनिक ३ घण्टा तालिम सञ्चालन गरिने बताउनुभयो । मेलम्ची भेगमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्षका साथ आफुहरुले तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । तामाङ र शर्मिला श्रेष्ठले तालिमको सहजिकरण गर्नुहुने छ ।