मेलम्ची दुवाचौर जोड्ने अस्थायी पुल संचालनमा, स्थानीयलाई सहज

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
मेलम्ची खोलाको फट्टे स्थित अस्थायी पुल बुधबारबाट संचालनमा आएको छ । मेलम्ची नगरपालिका ११ र ७ लाई जोड्ने उक्त स्थानमा हिउँद लागे संगै प्रत्येक बर्ष ह्युम पाइप राखेर अस्थायी रुपमा यातायात संचालन हुदैँ आएको छ । तर बर्षायाममा सिधा यातायात संचालन नहुँदा अत्याबश्यक बस्तुको ढुवानी लगायतमा समस्या पर्दै आएको थियो भने अशक्त, बिरामीको उपचारमा अस्पताल आउन जान समेत कठिन थियो ।

चाडपर्व समेत नजिकिएको र खोलाको जलसतह समेत घटेकाले हिउँद लागे संगै अस्थायी पुल निर्माण गरी संचालनमा ल्याइएको मेलम्ची नगरपालिका ७ का वडा अध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो ।

हरेक बर्ष नागरिकले सास्ति खेपिरहँदा पनि फट्टेमा पक्कि पुल बनाउन प्रदेश र केन्द्र सरकारले वेवास्ता गरेपछि नगरपालिका आफैले पुल निर्माण गर्ने निणर्य गरेको छ । पुलको नाँपचाज सकिनुका साथै प्राविधिक लागत अनुमान तयार भईसकेको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरको आफ्नै स्रोतबाट बहुबर्षिय योजना मार्फत करिब २६ करोडको लागतमा पुल निर्माण गर्ने योजना रहेको उहाँको भनाई छ ।

हाल अस्थायी पुल निर्माण भई यातायात संचालनमा आएसंगै त्यस भेगका मेलम्ची, हेलम्बु र पाँचपोखरीका करिब २५ हजार जनसङ्ख्याले सहज सेवा पाउनेछन् । २०७८ असार १ गतेको बाढीले पक्कि पुल बगाएपछि त्यस भेगका नागरीकले आवतजावतका लागि सास्ती भोग्दै आएका छन् ।

Leave a Reply