रेडियो मिसन
नेपालि काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति आईतमान तामाङले मन नमिल्नेहरूको समुह फरक रहने तर पार्टीगत रूपमा कसैले कसैलाई असफल बनाउन लाग्न नहुने बताउनुभएको छ । हिजोको दिनमा रहेको तिक्तता हटाई मनमा रहेका तितामिठा कुराहरू त्यागेर एकबध्द भएर आगामि निर्वाचनमा पार्टिलाई बलियो बनाएर लैजानुपर्नेमा उहाँले जोड दीनुभएको छ । निस्क्रिय रहेकाहरूलाई चलायमान बनाई संगठनभित्र रहेको नराम्रा कुरा हटाएर राम्रो कुराको अनुशरण र पार्टीको भातृ संस्थाका केन्द्रीय सदस्यहरू कार्यक्रममा नआउने प्रचलन र गाउँटोलमा बसेर संगठन बनाउन छाडेर नेताको घरघर जाने प्रकिया गलत रहेको उहाँले बताउनुभयो ।
पार्टीको पदमा रहि भातृ संगठनमा गएकाहरूलाई हालको पदमात्र क्षेत्रीय कार्यसमितिले मान्ने र कांग्रेस सुध्रनको लागि हिजोका कुरा बिर्सिएर भोलिको दिनको लागि लाग्नुपर्ने साथै जसको कमि कमजोरी छ उ सच्चिएर जानुपर्ने उहाँको भनाई छ ।
बजेटमा प्रदेश तथा केन्द्रले उपेक्षा गरेको बताउँदै तामाङले भातृ तथा शुभेच्छुक संस्थाहरूको कार्यसमिति चलायमान बनाउन र समयमा अधिवेशन गराउन पार्टी नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै पार्टीको जुनसुकै व्यक्ति उम्मेदवार भएपनि जिताउन लाग्नुपर्ने बताउँदै आफुले टिकट पाएन भन्दैमा असहयोग गर्ने बानिको अन्त्य गर्नुपर्ने उहाँले सबैलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस केन्द्रिय परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमिति द्वारा आयोजित नेपाली कांग्रेस विशेष आन्तरिक अभियान २०–३० श्रावण २०८० कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । क्षेत्रीय कार्यसमितिद्वारा आयोजित कार्यक्रममा संगठनलाई कसरी सुदृढ र मजबुत बनाउन सकिन्छ भन्नेमा जिल्लाभरका विभिन्न तहमा रहेका नेताहरूको सहभागिता रहेको थियो । सिन्धुपाल्चोकका लागि केन्द्रीय प्रतिनिधि तिर्थ पसखलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
