आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस, सिन्धुपाल्चोकमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा जिल्ला युवा समिति सिन्धुपाल्चोकको आयोजनामा चौतारा बहुमुखी क्याम्पसमा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम गरीएको छ । साथमा वृक्षारोपण कार्यक्रम गरीएको जिल्ला युवा समिति सिन्धुपाल्चोकले जनाएको छ । धुपि , फुलका बिरुवा लगाएत विभिन्न जातका बिरुवाहरु रोपिएको छ ।
प्रमुख अतिथि नगर ईन्चार्ज उजार सिंह तामाङले कार्यक्रममा बोल्दै राज्यले युवामैत्री गतिविधि र कार्यक्रम ल्याएर युवालाई समृद्ध नेपालको अभियन्ता बनाउनसक्नुपर्ने र राज्यले युवालाई जति सदुपयोग गर्न सक्यो त्यति नै चाँडै मुलुक निर्माण हुने बताउनुभयो । वृक्षरोपणले विद्यालयमा सौन्दर्यकरणका साथै विद्यार्थीहरुलाई अक्सिजन पर्याप्त मात्रामा पुग्ने पनी तामाङले बताउनु भएको छ । यस्तै प्रदेश स्वयंसेवक रुपक दुलालले नयाँ नेपाल बनाउने हो भने पहिलो शक्ति नै युवा भएकाले राज्यले युवामैत्री गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा नगर ईन्चार्ज उजार सिंह तामाङ , प्रदेश स्वयंसेवक रुपक दुलाल ,क्याम्पस प्रमुख , बिधार्थी लगाएत अन्य पदाधीकारीहरुको उपस्थीति रहेको थियो ।
यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराकासाथ सप्ताहव्यापी रुपमा कार्यक्रम भइरहेको छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।