डेंगी नियन्त्रणमा समुदायको साथ: इन्द्रावती–११ मा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

डेंगी संक्रमणको जोखिम न्यूनीकरणका लागि इन्द्रावती गाउँपालिका–११ बोडगाउँमा समुदायस्तरीय ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको अभियानसँगै अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको हो।

कार्यक्रममा घर–घर तथा वरपर रहेका पानी जम्ने स्थानको पहिचान गरी एडिस जातको पोथी लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने अभ्यास गराइएको थियो। जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईका अनुसार डेंगी फैलिन नदिन लामखुट्टेको जीवनचक्र नै तोड्नु सबैभन्दा प्रभावकारी उपाय भएकाले समुदायको सक्रिय सहभागितामा अभियान सञ्चालन गरिएको हो।

जनस्वास्थ्य अधिकृत हिसिला दनुवारले डेंगीका लक्षण, संक्रमणबाट बच्ने उपाय तथा घर–आँगन सफा राख्ने बानीबारे स्थानीयलाई जानकारी दिनुभएको थियो। उहाँले प्रत्येक शुक्रबार कम्तीमा १० मिनेट आफ्नै घर तथा वरपर पानी जम्ने ठाउँ खोजी सफा गर्ने बानी बसाल्न आग्रह गर्नुभयो।

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष राम्जी माझी, वडा नं. १० का अध्यक्ष रामचन्द्र घिमिरे, वडा नं. ११ का पूर्व अध्यक्ष मने माझी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल्सिना, जनस्वास्थ्य अधिकृत साहारा सापकोटा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, क्लबका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply