मेलम्ची । मेलम्ची बजारसँग नगरपालिकाको वडा नम्बर ७ र ८ जोड्ने स्थान फट्टेमा पक्की पुल मेलम्ची नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गर्ने भएको छ । २०७८ को असारमा आएको बाढीले उक्त स्थानको पक्की पुल बगाएको थियो । पुल बगाएको २ वर्ष सम्म पनि संघ र प्रदेश सरकारको प्राथमिकतामा नपरेको उक्त स्थानमा मेलम्ची नगरपालिकाको आन्तरिक स्रोतबाट पक्की पुल निर्माण गर्ने आइतबारको कार्यपालिका बैठकले निर्णय गरेको हो ।
नगर प्रमुख आइतमान तामाङका अनुसार चालू आर्थिक वर्षमै पक्की पुल निर्माणको टेन्डर गर्ने कार्यपालिकाले निर्णय गरेको छ । उहाँकाअनुसार प्रदेश सरकारले मेलम्ची नदिको फट्टेमा पक्की पुल निर्माण शिर्षकमा पाँच लाख रुपैया बजेट छुट्याएको तर उक्त बजेटले पुलको डिपिआर गर्न समेत नपुग्ने भएकोले नगरपालिकाको आन्तरिक स्रोतबाटै चालू आर्थिक वर्षमै पक्की पुल निर्माणको लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको बताउनु भएको छ ।
इन्द्रावती नदिमा बेलीब्रिज बनेपनि मेलम्ची नदिको पुल बनाउने तर्फ संघ र प्रदेशको ध्यान नपुगेको स्थानीयले गुनासो गरेपछि नगरपालिकाले पुल बनाउने निर्णय गरेको हो ।
उक्त स्थानमा पुल बनेपछि मेलम्ची नगरपालिकाको ११ नम्बर वडाको केही भाग वडा नम्बर ७ र ८ तथा हेलम्बु गाउँ पालिका र पाँचपोखरी गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।
![](https://radiomission.org/wp-content/uploads/2023/07/363008366_6765714550114849_3580386064493089828_n.jpg)