सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका विभिन्न ८ वटा विद्यालयका १४ जना शिक्षकलाई आलोचनात्मक शिक्षण पद्धति सम्बन्धित कार्यशाला सञ्चालन गरिएको छ ।
आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी कार्यशालामा रूपान्तरणकारी शिक्षण अभ्यास, पाठ्यक्रम अनुसारको शैक्षिक कार्ययोजना र शिक्षकको तयारी लगायतका विषयहरूमा शिक्षकहरूबिच विस्तृत रूपमा छलफल गरिएको कार्यक्रम आयोजक संस्था जस्ट नेपाल फाउण्डेसनका फिल्ड संयोजक प्रकाश खड्काले बताउनुभयो ।
सहभागितमूलक एवं आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी आधारभुत तालिममा शिक्षक र शिक्षण सिकाइ प्रक्रिया, विश्व मान्यता प्राप्त दस जीवनमुखी सीपहरू, सिकाइका व्यवहारिक अभ्यास र सिकाइ डायरी लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।
जस्ट नेपाल फाउण्डेसनले हेलम्बु गाउँपालिकासँगको सहकार्यमा ‘हाम्रो समुदाय, हाम्रो विद्यालय—हेलम्बु’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै कार्यक्रम अन्तर्गत गाउँपालिकाका शिक्षकहरुलाई कार्यमूलक अनुसन्धान अन्तर्गत सहभागितमूलक एवम् आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी आधारभुत तालिम प्रदान गरिरहेको हो । आजीवन सिकाइ मण्डलाका प्रशिक्षकहरू विमल फुँयाल र पुनम कुईँकेलले प्रशिक्षण दिईरहनुभएको छ ।
साउन २ गतेबाट हेलम्बुको शेर्माथाङमा रहेको याङ्ग्रीमा इको लजमा तालिम सञ्चालन भइरहेको हो । ५ दिनसम्म चल्ने तालिमपछि सहभागी शिक्षकहरुसँग निरन्तर कार्य गरी सोही कार्यबाट प्राप्त हुने नतिजाको आधारमा नयाँ तालिम मेनुअल समेत निर्माण गर्ने योजना रहेको खड्काले बताउनुभयो ।