मेलम्ची नदिमा बेलिबृज निर्माण हुने पक्का पक्की, नेपाली सेनाको टोलीद्वारा स्थलगत निरिक्षण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नदिमा बेलिबृज निर्माण हुने पक्का पक्की भएको छ । पुल निर्माणका लागी आज नेपाली सेनाको टोलीले स्थलगत निरिक्षण गरेपछि उक्त स्थानमा पुल बन्नेमा बिश्वस्त हुँदै स्थानीय खुशी भएका छन् । तीन पालिका मेलम्ची इन्द्रावती र पाँचपोखरीलाई जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निमार्ण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

चुनावका समयमा जेठ मशान्तभित्र बेलिब्रिज निमार्ण गर्ने प्रतिबद्धता गरे पनि केहि समय ढिलो गरेर बेलिब्रिज निमार्ण हुन लागेको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिँदै अब बेलिब्रिज निमार्ण प्रक्रिया तत्काल अगाडी बढ्ने बताउनुभयो । यस भेगको समस्यालाई मध्यनजर गर्दै विगत धेरै लामो समयदेखिको प्रयास अब सफल हुन लागेको उहाँले दावि गर्नुभयो । उहाँले प्रारम्भिक निरीक्षण तथा नापजाँचको क्रममा बेलिब्रिज निर्माणको जिम्मेवारी लिनुभएको नेपाली सेनाको टोलिलाई मेलम्ची खोलामा बेलिब्रिज अहिले अति आवश्यक रहेको र अब बर्षायाममा यहाँको नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाडो कार्य सम्पन्न गर्नका लागी आग्रह गर्नुभयो ।

महासेनानी (कर्णेल) इश्वर बुढाथोकीले यो कार्यगर्न केही चुनौती रहेपनी अबको केही समय भित्रै बेलिब्रिज निर्माण हुने र जतिसक्दो चाडो कार्य सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

मेलम्ची पारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निमार्ण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने यस भेग सँग सदरमुकाम चौतारा जोड्ने छोटो दुरीको रुटको रुपमा समेत यो सडक प्रयोग हुँदै आएकोछ ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, र बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर)को पहल, निरन्तर प्रयास र लामो समयको मेहनतपछी मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नको लागि नेपाल सरकारको अर्थ मन्त्रालय र भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिए सँगै नेपाली सेनाको इन्जिनियरिङ बिभाग, १४ नम्बर बाहिनी अड्डाबाट महासेनानी (कर्णेल) इश्वर बुढाथोकीको नेतृत्वमा आएको टोलीले आज अध्ययन सर्वेक्षण गर्नुभएको हो ।

०७८ साल असार १ गते आएको बाढीले पक्कि पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुनेगरेको छ । बुधबार नेपाली सेनाको प्राविधिक टोलिले प्रारम्भीक अध्ययन गरेको छ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको पहलमा पुल बन्ने भएपछि स्थानिय नागरिकहरु खुशी भएका छन् ।

Leave a Reply