रेडियो मिसन, मेलम्ची ।
सिद्धेश्वरी युवा क्लबद्वारा आयोजित मेलम्ची नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार युवा क्लब मेलम्ची ९ ज्यामिरेले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा सृजनशील युवा क्लब मेलम्ची ७ छापलाई ३–१ को सेटमा हराउँदै ज्यामिरेले उपाधि माथि कब्जा जमाएको हो । उपाधि सँगै ज्यामिरेले नगद ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको छापले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सिद्धेश्वरी युवा क्लबका अध्यक्ष धुर्ब प्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक सिद्धेश्वरीले तेस्रो स्थानमा चित्त बुझाएको छ । जनता माध्यमिक विद्यालय ज्यामिरेलाई ३–१ ले हराउँदै आयोजकले नगद १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रथम स्थान हासिल गरेको सिन्धु योङ स्टार युवा क्लबका टिम क्याप्टेन इन्द्र कार्कीलाई नगर प्रमुख र मेलम्ची ९ का वडा अध्यक्षको तर्फबाट ३–३ हजार गरि ६ हजार रुपैयाँले सम्मान गर्नुभएको छ । त्यस्तै नगर प्रमुख तामाङले दोस्रो र तेस्रो हुनेलाइ व्यक्तिगत तर्फबाट ३–३ हजार रुपैयाँले सम्मान गर्नुभएको थियो ।
प्रतियोगितामा चौथो स्थान हासिल गरेको मेलम्ची ९ ज्यामिरेको जनता माध्यमिक विद्यालयका खेलाडीहरुलाई नगर प्रमुख आइतमान तामाङले ३ हजार र मेलम्ची ९ का वडा अध्यक्ष किरणदिप खड्काले २ हजार गरि ५ हजार रुपैयाँले सम्मान गर्नुभएको थियो । प्रतियोगितामा वेस्ट प्लेयर ज्यामिरेका सुरज खड्का र बेस्ट स्पाइकरमा दुवाचौरका आकाश तामाङ चुनिनु भएको थियो ।
स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा आयोजक सिद्देस्वरी युवा क्लब ए र बि गरी दुई टोली, मेलम्ची ९ ज्यामिरे, मेलम्ची ४ थकनी, मेलम्ची ३ हैबुङ, सिन्धु योङ् स्टार युवा क्लब ज्यामिरे, श्रीजनसिल युवा क्लब मेलम्ची ७ छाप, मेलम्ची ७ दुवाचौर, मेलम्ची ८ क्यौरानी र न्यू फ्याफुल्ला युवा क्लब मेलम्ची २ भोटेचौर गरी नगरपालिका भित्रका १० टोलीको सहभागिता रहेको आयोजक संस्थाका सचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो ।