रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेल क्षेत्रको विकासमा नगरपालिका सकारात्मक रहेको बताउनुभयो । सिद्धेश्वरी युवा क्लबद्वारा आयोजित मेलम्ची नगर स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि यस्ता प्रतियोगिताले टेवा पुग्ने बताउनुभयो । उहाँले छिट्टै मेयर कप आयोजना हुने भएकाले तयारी गर्न समेत खेलाडीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भलिबल मात्र नभएर मेलम्चीमा अन्य खेलकुदको पनि राम्रो सम्भावना रहेकाले खेल क्षेत्रमा लगानी गर्नका लागि नगरपालिकाले कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलाडी उत्पादन तथा खेल मैदान निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बचन दिनुभयो ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष राजु रायमाझी, मेलम्ची ९ का वडा अध्यक्ष किरणदिप खड्का लगायतको उपस्तिथि रहेको थियो ।