इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० को आज शनिवार उद्घाटन भएको छ ।
प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले रेफ्री लाई बल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिकाका पर्व अध्यक्ष वंशलाल तामाङको विशेष आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रमको अवसरमा आफ्नो भनाई राख्दै बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले युवाले चाहे गाउँको र देशको मुहार फेर्न सक्ने बताउनुभएको छ । युवाहरू एक ढिक्का हुन सकेमा असम्भव केही नहुने उहाँले बताउनुभयो । राजनीतिमा युवाले थोरै मात्र अवसर पाएको उहाँको भनाई थियो । शिक्षा, स्वास्थ्य, खेलकुद र सिँचाइ लगायतको समस्या समाधान गर्न युवाहरू राजनीतिमा आउन जरुरी रहेको उहाँले बताउनुभयो । परिवर्तन ल्याउन युवाहरू एक ढिक्का हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो । राजनीतिमा युवा आएमा मात्र देश र समाजको विकास सम्भव हुनेमा उहाँले जोड दिनुभएको छ । आर्थिक बर्स २०८०/०८१ बजेटमा खानेपानी, सिँचाइ र विद्यालय सुधारको योजना ल्याएको उहाँले जानकारी दिनुभयो । आर्थिक बर्ष २०८१÷०८२ मा यस क्षेत्रमा बजेट सहितको मायाँको चिनो पठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँको विकासको लागि सकेको सहयोग गर्ने सांसद तामाङले बताउनुभयो ।

कार्यक्रमका विषेश अतिथि इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङले इन्द्रावती सृजनशील युवा समाज इन्द्रावती कै सामाजिक संस्थाहरूको प्रेरक हुन सक्ने बताउनुभयो । स्थापनाको एक महिना नबित्दै गाउँपालिका स्तरीय कार्यक्रम गर्न सकेकोमा प्रशंसायोग्य रहेको बताउनुभयो । वडा अध्यक्षहरूले पनि वडा अध्यक्ष कप फुटबल गरेर खेलाडीहरू उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले पालिका स्तरीय खेल आयोजना गर्नु चुनौतीको कुरा भएकाले आफूले प्रशंसा गर्ने बताउनुभएको छ । इन्द्रावतीका युवाहरूमा खेल प्रतिको आकर्षण बढ्दो रहेकाले गाउँपालिकाले यथोचित सम्बोधन गर्न जरूरी रहेको उहाँले बताउनुभयो । खेलको लागि गाउँपालिकाले प्रोत्साहन गर्न जरूरी रहेको उहाँले बताउनुभयो । युवालाई हौसला प्रदान गर्ने उद्देश्य संस्थाको रहेकाले गाउँपालिकाले सकेको सहयोग गर्ने उहाँको भनाई थियो । पालिका स्तरीय खेलकुद विकास समिति गठन गर्ने र त्यसले खेलकुदको विकास गर्ने पनि उहाँले जानकारी दिनुभयो । यस अघि भएका अध्यक्ष कप र राष्ट्रपति रनिङ्ग सिल्ड खेलमा भएको विवादबारे गाउँपालिका गम्भीर रहेको उहाँले बताउनुभयो । पालिकाले आयोजना गरेको खेल विवादको चौघेरामा परेकाले अब गर्ने खेल विवाद रहित बनाउनुपर्नेमा प्रवक्ता आचार्यले बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाका सभापति तथा वडा नम्बर १० का पूर्व वडा अध्यक्ष जीवन कुमार थापामगरले खेलकुदले मानिसलाई सफल बनाउने बताउनुभयो । देशमा धेरै राजनीतिक खेलाडी भएको तर अनुशासित नभएकोले देश नबनेको उहाँको तर्क थियो । खेलाडीहरू अनुशासित भएन भने क्षमताले मात्रै पनि सफल हुन नसकिनेमा उहाँले जोड दिनुभयो । खेलकुद आयोजना र खेलाडीले संसारको कुनै कुनामा गएर इन्द्रावतीका खेलाडीले खेल्न सक्छन् भन्ने सन्देश दीन सक्ने उहाँले बताउनुभयो । खेलाडीले आफूसँग भएको क्षमतालाई प्रस्फुटन गर्ने वातावरण सृजना गर्नुपर्ने उहाँको भनाई थियो । १२ महिनामा प्रत्येक वडाले १/१ महिनामा खेल सञ्चालन गर्न सकेमा पर्यटन र व्यापार व्यवसायमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले खेलकुदले ब्यक्तिलाई स्वस्थ र अनुशासित बनाउन खेल क्षेत्रको ठुलो भूमिका हुने बताउनुभयो । खेललाई सभ्य र भव्य बनाउन सबै एक भएर लाग्न पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले स्व स्फूर्त रूपमा सामाजिक संस्थाले खेल सञ्चालन गर्नाले खेलाडीको प्रतिभा प्रस्फुटन हुने बताउनुभयो । खेल भनेको नियमित अभ्यासले सफल हुने भएकाले यस्ता प्रतियोगिताहरूले सहयोग पु¥याउने बताउनुभयो । उहाँले खेलकुदको संस्थागत विकासको लागि सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्द्रावती सृजनशील युवा समाजका सल्लाहकार मदन कुमार भट्टराईले संस्था खेल क्षेत्रका लागि मात्र नभई बहुपक्षीय सामाजिक कामको लागि स्थापित भएको बताउनुभयो । १ महीनाको अवधीमा संस्थाले गरेको काम सराहनीय रहेको उहाँले बताउनुभयो ।

उद्घाटन खेल इन्द्रावती गाउँपालिका वडा नं ८ र सृजनशील युवा समाज बि बिच भएको थियो । उद्घाटन खेलमा इन्द्रावती ८ ले ३ गोल गर्दै सृजनशील युवा समाज बी लाई पराजित गरेको थियो ।
खेल ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा २१ टिम रहेका छन । खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नक आउट प्रक्रिया बाट खेलाइने इन्द्रावती सृजनशील युवा समाजका सल्लाहकार मदन कुमार भट्टराईले जानकारी दिनुभयो ।
इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रतियोगितामा इन्द्रावती गाउँपालिका वडा नम्बर १० को कार्यालय सह आयोजक रहेको छ । कार्यक्रम इन्द्रावती सृजनशील युवा समाजका अध्यक्ष सुवास तामाङको अध्यक्षतामा भएको हो भने अजय पुर्कोटीले सञ्चालन गर्नुभएको थियो ।










यस्तो छ खेल तालिका :
