इन्द्रावतीमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस : सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित “लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार“ विषयक सचेतनामूलक अन्तरक्रिया कार्यक्रम भएको छ ।

इन्द्रावती गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमख अतिथि, इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले १२ वटै वडामा महिला सञ्जाल गठन गर्ने बताउनुभएको छ । आम समृद्धि प्राप्तिको लागि महिलाहरूलाई अघि बढाउन जरूरी रहेको बताउँदै उहाँले गाउँपालिकामा नीति नियमनै बनाएर महिला अधिकारको क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । 

विशेष अतीथि गाउँपालिका उपाध्यक्ष सोभना तामाङले एक महिलालाई हिंसा हुँदा अर्काे महिला टुलुटुलु हेरेर बस्ने नभई हिंसा विरुद्ध सबै एकजुट भएर आवाज उठाउनुपर्ने बताउनुभयो । अरुले अधिकार देला भनेर बस्न नहुने भन्दै, उहाँले भन्नुभयो “अधिकार खोज्न महिला आफैँ अग्रसर हुनुपर्छ ।, महिला दिदीबहिनी अघि लाग्नूस् म तपाईँहरूको साथमा छु ।”  
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख, सुजता गौतमले लैङ्गिक समानता, महिला अधिकारको लागि पुरूषको पनि महत्वपूर्ण भूमिका हुने भनाई राख्नुभयो । 

नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, लक्ष्मी कोइरालाले आफ्नो अधिकारको लागि आफै लड्नपर्ने बताउनुभयो । कानुनका कुराहरू व्यवहारमा उतार्न नसकेकाले अझैपनि महिला हिंसाका घटनाहरू घटिरहेको उहाँको भनाई थियो । महिलाहरुले पहिला आर्थिक रूपमा पहुँच बनाउनुपर्ने र यसका लागी पालिकाले महिला सहकारीहरूलाई पनि कार्यक्रमहरू दिनुपर्ने माग राख्नुभयो । 

जनसुधार महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सान्नानी आचार्यले महिलामैत्री पालिका बनाउनुपर्ने र महिलाहरू एकजुट हुनुपर्ने धारणा राख्नुभयो । बोल्नसक्ने महिलाहरू मात्र कार्यक्रममा उपस्थित हुने गरेको र आवाज उठाउन नसक्ने महिलाहरू घरमै बस्ने गरेकोले सबैलाई समेट्नुपर्ने बताउनुभयो । 

इन्द्रावती ९ कि सजिना श्रेष्ठले महिलाहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।  नारी भनेको शक्ति र क्षमतालाई अघि सार्नको लागि व्यवसायीका बन्न आवश्यक रहेको भन्दै महिलाहरू आफू अन्यायमा परेमा आवज उठाउन सक्नुपर्ने बताउनुभयो । 

इन्द्रावती १ कि महिला स्वयंसेवीमा अष्टमाया तामाङले अशिक्षा गरिबीको कारण महिला हिंसा बढेको र त्यस कारण महिलाहरू व्यवसायिक बन्न जरूरी रहेको बताउनुभयो । 

इलाका प्रहरी कार्यालय नवलपुर प्रमुख इन्द्रजित इटानीले आफ्नो अधिकार माग गर्दा अरूको अधिकार हनन गर्न नहुने भन्दै घरदेखी नै बालबालिकाहरूलाई समानताको बारेमा सिकाउन जरूरी रहेको बताउनुभयो । कुनै पनि घटना घटेमा वा हिंसामा परेमा तत्काल प्रहरीलाई खवर गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा महिला अधिकार सम्बन्धी गीत प्रस्तुत गरिनुका साथै महिला सशक्तिकरणको लागि एकजुट हुनुपर्ने आवाज उठेको थियो । नमुना इन्द्रावती बनाउन सबैजना लाग्नुपर्नेमा सबैले जोड दिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक समिति संयोजक राधिका तिमल्सिनाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सहकारीमा आवद्व महिलाहरू, महिला सञ्जालमा आवद्व महिलाहरू, कार्यपालिका सदस्य, वडा सदस्य महिलाहरू लगाएत २०० बढी महिलाहरूका उपस्थित थिए । 
 

Leave a Reply