महिलाको आवाज उठान गर्न १२ वटै वडामा महिला सञ्जाल गठन गर्छौँ : अध्यक्ष नेपाल

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
महिलाको आवाज उठान गर्न गाउँपालिकाको १२ वटै वडामा महिला सञ्जाल गठन गर्ने इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभएको छ । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित “लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार“ विषयक सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष नेपालले महिलाहरूको समस्या महिला सञ्जालबाट संकलन गर्ने र समस्याको समाधान खोज्ने पनि बताउनुभयो । नीति नियम नै बनाएर महिला अधिकारको क्षेत्रमा काम गर्ने र आम समृद्धि प्राप्तिको लागि महिलाहरूलाई अघि बढाउन जरूरी रहेको उहाँको भनाई थियो । 

महिलाहरूको लागि प्राप्त अधिकारको रक्षा गर्न सक्नुपर्ने भन्दै अध्यक्ष नेपालले काम धन्दा थाती राखेर भएपनि कार्यक्रममा सकृय उपस्थिति रहेकोमा महिलाहरूलाई धन्यवाद दिनुभयो । इन्द्रावतीलाई नमुना गाउँपालिका बनाउने लक्ष्य रहेको र यसमा साथ सहयोग गर्नु सबैको दायित्व हुने उहाँले बताउनुभयो ।

दिवसको अवसरमा शुभकामना दिँदै नेपालले पालिकामा स्रोत साधनको कमी रहको भन्दै कृषि र पशुपालनको क्षेत्रलाई माथि लगेर मात्र गाउँपालिका समृद्ध बन्न सक्ने भएकोले हेफर इन्टरनेशनल सँग सम्झौता गरेर स्रोत साधन जुटाएर काम गर्ने बताउनुभयो ।

हरेक बर्ष मार्च ८ मा महिला दिवस मनाउने गरिएको छ । संसारका महिलाहरू एकजुट भएर कोपन हेगनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका निष्कर्षलाई कानुन बनाइएको थियो । महिलाको लागि समान ज्याला, महिलाको अधिकारको लागि पहल गर्न यो दिवसले योगदान दिएको छ ।

Leave a Reply