इन्द्रावती गाउपालिका वडा नम्बर ८ ज्यामिरेमानेमा मञ्जुश्री २८५९ ओै (ह्योई ल्हो) बिरालो वर्ष सोनाम ल्होछार २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपाल र पाँचपोखरी गाउपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्ष झम्कनाथ नेपालले नेपाली सबै सांस्कृतिक पर्वहरू सहित तामाङ जातिको विशेष पर्वको रुपमा मानिने ल्होछार पर्वको पनि संरक्षण गर्ने जिम्मेवारी पालिकाको रहेको बताउनुभयो । उहाले विशेषगरी तामाङ समुदायले मनाउँदै आएको ल्होछार पर्वको उपलक्ष्यमा तामाङ समुदायलाई लक्षित गरि पालिकाले दुई दिन बिदा दिएको पनि स्मरण गराउनुभयो । नेपाली कला , साहित्य , संस्कृतिको संरक्षण गर्न पालिका सदैव प्रतिबद्ध रहेको नेपालले बताउनुभयो ।
पालिकामा पूर्व मन्त्री शेर बहादुर तामाङको सांसद पूर्वाधार विकास कोषबाट तामाङ जातिको समाधि स्थलमा निर्मित मानेहरुको विस्थापित गरि सबै मानेहरुको प्रतिनिधित्व गर्नेगरी छ्योर्तेन निर्माण गरिएको नेपालले बताउनुभयो । पालिकाको ४३ सामुदायिक विद्यालयहरूमा स्थानीय पाठ्यक्रम सञ्चालन गरिने उहाले जानकारी दिनुभयो । पालिकामा बौद्ध शिक्षालयको स्थापना गर्ने योजनाका साथ पालिका अघि बढेको नेपालले बताउनुभयो ।
पाँचपोखरी गाउपालिका अध्यक्ष टासी लामाले नेपाल बहु भाषिक , बहु धार्मिक र बहु सांस्कृतिक विविधता एकताको सूत्रमा बाधिएको बताउनुभयो । नेपाल बहु संस्कृतिक बिबिधता एकताको सुत्रमा बाधिएकोले ल्होछार जस्ता नेपाली सबै सांस्कृतिक पर्वहरूको जगेर्ना गर्नुपर्ने दायित्व सबै नेपालीहरूको रहेको उहाँले बताउनुभयो ।
गोले वंश उत्थान समाजको उपाध्यक्ष हर्क तामाङले ताम्बा , बोन्बो, र लामा संस्कृतिको संरक्षणले मात्रै तामाङ जातिको पहिचान स्थापित हुने बताउनुभयो । धेरै तामाङ समुदायमा यी संस्कृति हराएकोले तामाङ संस्कृति लोप हुँदै गएको उहाँले बताउनुभयो । चोहो संस्कृतिले मात्रै यी तीन संस्कृति समेटीने तामाङले बताउनुभयो ।
नेपाल तामाङ घेडुङ इन्द्रावती गाउपालिका अध्यक्ष एवम् वडा नम्बर ४ को अध्यक्ष क्षेत्र बहादुर तामाङले तामाङ भेषभुषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने दायित्व सबै तामाङ समुदायको रहेको बताउनुभयो । पछिल्लो समय तामाङ परम्परा र संस्कृति लोप हुदै गएकोले भन्दै संरक्षण गर्नुपर्ने आवश्यक रहेको तामाङले बताउनुभयो । तामाङले पालिकाको विद्यालयहरूमा तामाङ भाषाको पढाइको व्यवस्था मिलाइ सुनिश्चित गर्न पालिका अध्यक्ष समक्ष अनुरोध समेत गर्नुभयो ।
वडा नम्बर ७ पुर्व अध्यक्ष वीर बहादुर तामाङले संघिय व्यवस्थाले मात्रै सबै नेपाली पर्व , संस्कृतिहरुको संरक्षण गर्न सक्ने बताउनुभयो । उहाँले संघिय व्यवस्था ल्याउनका निम्ति बलिदान दिने सहिदहरुलाई स्मरण गर्नुहुँदै सिन्धुपाल्चोक जिल्लामा तीन सय ३२ जना जनजातिहरू सहिद भएको बताउनुभयो । ती मध्ये ९८ जना तामाङ जाति सहिद भएको भन्दै दुखेसो व्यक्त गर्नुभयो । ठुलो बलिदानी बाट ल्याइएको संघीय व्यवस्थाले मात्रै नेपाली संस्कृतिको संरक्षण भएको तामाङले बताउनुभयो ।
वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले तामाङ संस्कृति लोपहुदै गएको भन्दै संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । तामाङ संस्कृति नै सबै तामाङको पहिचान भएको भन्दै संरक्षण र जगेर्ना गर्नुपर्नेमा अध्यक्ष लामाले जोडदिनुभयो ।
अध्यक्ष वडा ८ दिलकुमार श्रेष्ठले नेपाली समुदाय संस्कृतिहरुको जगेर्नाको निम्ति मन्दिर गुम्बाहरुमा आवश्यक मुर्तिहरुको व्यवस्थापन गरि मुर्ति राखिदिने बताउनुभयो । ल्होछार पर्व मात्रै नभइ सबै नेपाली सांस्कृतिक पर्वहरुको संरक्षणको लागि आफू निरन्तर लागि रहेने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।