नवलपुर भ्याली स्कुलमा सरस्वती पूजा र अक्षरारम्भ (फोटोसहित)

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 

आज श्री पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी देशभर मनाइएको छ । यसै अवसरमा इन्द्रावती ४ नवलपुरमा रहेको नवलपुर भ्याली स्कुलले सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम गरेको छ । विद्यालयले सरस्वतीको पूजा गरी नयाँ भर्ना भएका साना नानिबाबुहरुलाई अक्षरारम्भ गरिनुका साथै विद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलापमा तथा कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

बिद्यार्थीहरुलाई इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ र वडा नम्बर २ का सदस्यहरुले मेडल वितरण गर्नुभएको थियो । 

उपाध्यक्ष सोभना तामाङले सरस्वतीको फोटोमा पूजा गर्दै सुरु गर्नुभएको कार्यक्रममा आफ्नो संक्षिप्त शुभकामना मन्तव्य राख्दै नवलपुरमा निजि बिद्यालय सञ्चालनमा आएपछि बालबालिकालाई पढाउनकै लागी सहर पस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । आफ्नो बालबालिकालाई उचित शिक्षा प्रदान गर्न भन्दै आर्थिक भार बोकेर सहर बस्न बाध्य नागरिकहरू गाउँमै बोर्डिङ स्कुल खुलेपछि आफ्नै परिवारसँग बसेर छोराछोरीलाई पढाउन पाउने भएपछि गाउँ फर्किन थालेको र यो सकारात्मक कुरा रहेको बताउनुभयो । साथै बिद्यालयलको प्रगतिको शुभकामना पनि दिनुभयो । 

साथै वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले नवलपुर भ्यालीले छोटो समयमा नै गरेको यो प्रगतिको प्रशंसा गर्दै अझै यसरी नै अघि बढ्न शुभकामना दिनुभयो । साथै असल व्यक्तित्व निर्माणका लागी बिद्यार्थीहरुको क्षमता र रुचि बुझेर पढाउन सुझाव दिनुभयो । 

ज्येष्ठ अभिभावक श्याम बहादुर गिरीको अध्यक्षतामा सम्पन्न कार्यकममा नयाँ भर्ना भएका लगायत विद्यालयका विभिन्न आन्तरिक प्रतिस्पर्धामा भाग लिएका बिद्यार्थीहरुलाई सिसा कलम र कापी वितरण गरिएको थियो । 

साथै आज अक्षरारम्भको दिन २० जना नयाँ बिद्यार्थीहरु भर्ना भएको विद्यालयका सञ्चालक तथा प्रिन्सिपल बुद्धि प्रसाद आचार्यले जानकारी दिनुभयो । आज भर्ना हुनेहरूलाई ५० प्रतिशत छुट दिइएको पनि उहाँले जानकारी दिनुभयो । 

Leave a Reply