पाँचपोखरीमा मिति गुज्रेका साँढे ६ लाख भन्दा बढीको सामान नष्ट

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, पाँचपोखरी ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले त्यसलाई जफत गरि नष्ट गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

उपाध्यक्ष सुनिता अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति बनाई बजारको अनुगमन गरिएको अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा ३ लाख ३० हजार भन्दा धेरै मुल्य बराबरको पेय पदार्थ, चकलेट, चिजबल, मिठाई, चाउचाउ गरी ७३ हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको गाउँपालिकाका कर्मचारी युवराज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै २ लाख ३६ हजार बराबरको तेल, चिउरा, चामल लगायतको सामाग्री गरि ६ लाख ५७ हजार मुल्य बराबरको मिति गुज्रेका अखाद्य वस्तु नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको अन्य पालिकाले चार्डपर्वको समयमा मात्र गर्ने बजार अनुगमन भन्दा छुट्टै समयमा गरिने अनुगमन प्रभावकारी हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो कदमको स्थानिय देखि व्यापारीहरुले समेत खुलेर स्वागत गरेका छन् ।
अहिले सम्म मिति नहेरी सामाग्रीहरु उपभोग गर्नेहरुलाई यसले सचेतना फैलाएको स्थानिय व्यापारी विकास श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले यसअघि देखिनै पालिकामा अखाद्य वस्तु नभित्रियोस भनेर सिमानाका खाल्डेखोलामा चेकजाँच गर्नेगरेको छ । गाउँपालिका अध्यक्ष टासि लामाले अब सामान किनबेच गर्दा मिति हेरर मात्र किनबेच गर्न र प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले जनताको जीवनसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा मिति गुज्रेका सामान विक्रि वितरण गरेको पाइएमा तत्काल वडा, पालिका वा प्रहरीलाई खबर गर्न आग्रह समेत गर्नुभयो ।

Leave a Reply