रेडियो मिसन, सिन्धुपाल्चोक ।
चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरका कारण सुन्दर हिमाल प्रभावित हुन थालेको छ । यसबाट पर्यटकीय गन्तव्यको रूपमा परिचित हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेको छ ।
ती क्षेत्रको डाडाँकाडा मङ्सिर सुरु हुने बित्तिकै हिउँले सेताम्मे हुने गर्दथ्यो । पछिल्ला वर्षहरूमा हिमालमै हिउँ पर्न छाडेपछि हिमाली दृश्यसँगै हिउँमा खेल्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक घट्दै गएका छन् । यसबाट पर्यटन व्यवसायमा आत्मनिर्भर रहेका स्थानीय विस्थापित हुन थालेका छन् । हेलम्बु क्षेत्रमा निर्माण भएका आकर्षक होटल, गुम्बा, ग्रेटटेलजस्ता पर्यटकीय ठाउँमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको छ ।
जिल्लाको पाँचपोखरी, नागिथाम, च्योच्योडाँडा, आमायाङरी, कुटुमसाङ, मेलम्चीघ्याङ, सेर्माथाङलगायतको माथिल्लो भूभागमा हिउँ पर्न छाडेको धेरै भएको छ। भौगोलिक विविधताले भरिपूर्ण भएका कारण हेलम्बु, पाचँपोखरी, मुडेलगायतका ठाउँमा विगतमा विदेशी पर्यटकको भीडनै लाग्ने गथ्र्यो । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हेलम्बु गाउँपालिकाले कृत्रिम हिउँ उत्पादनको लक्ष्य लिएको छ ।
गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले सबै ठाउँमा नभए पनि कुनै एक ठाउँमा भए पनि काम गर्ने बताउनुभयो ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा यहाँका हिमाली क्षेत्रमा हिउँ देख्न मुस्किल परेको छ भने परम्परागत बालीनालीसमेत सङ्कटमा परेका छन् । माथिल्लो हिमाली भूभागमा देखा परेको असरको रूपमा गत वर्षको भयानक मेलम्ची बाढीलाई लिन सकिन्छ । यो दीर्घकालीनरुपमा मानव समुदायलाई खतराको सङ्केत भएको वातावरणविद् प्रभु बुढाथोकीको भनाइ छ ।
विगतमा चार फिटसम्म हिउँ जम्ने स्थानमा अहिले तुसारो मात्र देख्न सकिन्छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हेलम्बु, पाँचपोखरी क्षेत्रमा नेपालकै गौरवको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसमेत रहेकाले यसको संरक्षणको लागि सरकारले समयमै उचित कदम चाल्नुपर्ने विज्ञहरूको सुझाव छ ।