इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षेश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत हिजाे तेस्रो दिन सम्म आइपुग्दा हजारौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाइ कथा श्रवण तथा दान गर्नुभएको छ ।
विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डित द्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत पाठ पारायण र कथा विस्तार भइरहेको छ । तेस्रो दिनसम्म भक्तजनहरूले दिवंगत पितृहरूको उद्दार र मोक्षाको कामनाले हालसम्म २०६ जना भक्तजनहरूबाट नगद दान प्राप्त भएको छ ।
हालसम्म छ लाख ३१ हजार रुपैया संकलन भएको र जसमध्ये इन्द्रावती १० स्थित तिलबहादुर पराजुलीले सर्वाधिक २६ हजार एक सय ५५ दान गर्नुभएको छ । मन्दिर संरक्षण र संस्कृति जगेर्नाको उद्देश्यले गरिएको सप्ताहव्यापी भागवत महायज्ञमा दैनिक भक्तजनहरूको उपस्थिति बढिरहेको र सबैमा उपस्थित भई अमुल्य ज्ञान हाँसिल गर्न तथा पुण्य कमाउन पनि आयोजक समिति सार्वजनिक रूपमा निमन्त्रणा गरेको छ ।
श्रद्धापूर्वक दान गर्ने दानवीरहरूको सम्मान स्वरूप आयोजकले रुद्राक्ष माला, रामनामी खादा, प्रमाणपत्र, चाँदीको फ्रेममा सम्मानपत्र र १० हजार भन्दा माथि दान गर्नेहरूको नाम मन्दिर परिसरमा शिलालेख गरिने साथै स्वागत स्वरूप मन्दिर परिक्रमा र ५० हजार भन्दा माथि दान गर्नुहुनेहरूलाई बाजा बजाएर गाउँ परिक्रमा गर्ने साथै हरेक दिन सुरुदेखि प्राप्त दानको बढ्दो स्वरूपमा यज्ञाशालाको साभानायक समेत घोषणा गरी सम्मान गर्ने गरिएको महायज्ञा प्रचारप्रसार समिति सदस्य मदन कुमार भट्टराईले जानकारी दिनुभएको छ ।
अक्षेश्वर महादेव मन्दिरमा आयोजित यस श्रीमत भागवत कथा महा यज्ञको सांगे एवं सनापन यही चैत्र ८ गते हुने भएको हुँदा भागवत प्रेमी भक्तजनहरूलाई बाँकी चार दिनमा भगवत कथा श्रवणको लागि उपस्थित हुन सबैमा निमन्त्रणा पनि गरिएको छ ।