कैँजले घट्टेखोला खानेपानी आयोजना हस्तान्तरण, आयोजनाबाट ३ सय ३७ घरधुरी लाभान्वित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा सम्पन्न कैँजले घट्टेखोला खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल र लेटर डे सेन्ट च्यारिटि नेपालका निर्देशक टि लुइ वल्फग्रामले आज एक कार्यक्रमका बिच आयोजनाको नव निर्मित धारामा पानी खोलेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

१ करोड ३२ लाख ७० हजार ८ सय ४४ कुल लागतमा सम्पन्न आयोजनामा साझेदारी संस्था सफा सुनौलो नेपालले ८२ लाख ७० हजार ८ सय ४४ सहयोग गरेको थियो भने अन्य खर्च गाउँपालिकाले गरेको थियो । उक्त आयोजनाले ३ सय ३७ घरधुरीका १ हजार ६ सय ८५ जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयो । 

खानेपानी आयोजना हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपालले दातृ निकाय र आयोजना सम्पन्न गर्न नेतृत्व लिने पूर्व गाउँपालिका अध्यक्ष लाई धन्यबाद दिँदै वृहत इन्द्रावती खानेपानी आयोजनाको काम पनि द्रुत गतिमा भइरहेकाले आगामी बैशाख सम्ममा उक्त आयोजना पनि सम्पन्न हुने दाबी गर्नुभयो । आयोजनाको दिगो र स्थायित्वका लागी र गाउँपालिका भित्रका खानेपानीको समस्या समाधानको लागी गाउँपालिकाले भूमिका निर्वहा गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । त्यसका लागी मिटरको ब्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । 

आयोजना सम्पन्न गर्न साथदिने दातृ सँस्था तथा उपभोक्ता समितीप्रति आभार प्रकट गर्दै निवर्तमान गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय माहासंघका निवर्तमान महासचिव बंशलाल तामाङले आफ्नो कार्यकालमा सुरु भएका आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएकाहरुको राम्रो सँग संरक्षणको लागी अपनत्व लिन आग्रह गर्नुभयो । 

कार्यक्रमको समापन गर्दै खानेपानी उपभोक्ता समिति अध्यक्ष इन्द्र बहादुर तामाङले आयोजना सम्पन्न भएपश्चात प्रत्येक घरमा आफ्नै धारा उपलब्ध भएकोले आयोजना प्रभावितहरूले पनिको समस्याबाट पार पाएको बताउनुभयो । 

कार्यक्रममा सहयोगी दातृ संस्था लेटर डे सेन्ट च्यारिटी नेपालका निर्देशक द्वय टि लुइ वल्फग्राम र जोवल्ल बि वल्फग्राम साथै सुनौलो सफा नेपालका सचिव सुनिल हमाल, गाउँपालिका उपाध्यक्ष सोभना तामाङ,  बिभिन्न वडाका अध्यक्षहरु खानेपानी उपभोक्त समितका सदस्यहरु राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव सुगम भट्टराई, सुनौलो सफा नेपालका फिल्ड सुपरभाइजर प्रसाद ढकाल र अनिता ढकाल लगायतको सहभागिता रहेको थियो । 

Leave a Reply