रेडियो मिसन, नवलपुर ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज गर्न व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आबेदन फारम भर्ने ब्यवस्था मिलाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रशाद शर्माले सोमबार एक सूचना जारी गर्दै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति गाउँपालिकाबाटै फारम भर्ने ब्यवस्था मिलाएको बताउनुभएको हो ।
व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहबाट नै अनलाइन आबेदन फारम भर्ने तथा बैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श प्राप्त गर्न सकिने ब्यवस्था गरेकोले बैदेशिक रोजगारी संबन्धि कुनै जानकारी लिनु परेमा वा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आबेदन गर्नुपर्ने भएमा आबश्यक कागजात सहित गाउँपालिकामा रहेको रोजगार सेवाकेन्द्रमा सम्पक गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
यसअघि, चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री) स्तरीयबाट भएको निर्णय अनुसार गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।