चौतारा नगरपालिकाले विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी समायोजन गर्ने

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा रहेका ८१ वटै विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । नगरपालिकाकी उपप्रमुख सिता थापाको नेतृत्वमा भएको सबै विद्यालयको अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा शिक्षक दरबन्दी मिलानको तयारी गरिएको हो ।

नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय नक्साङ्कन तथा अनुगमन प्रतिवेदनमाथि छलफल गरी यस्तो निष्कर्षमा पुगेको हो । बैठकमा शिक्षा समितिका सदस्यहरू सहित वडाध्यक्षहरू, शिक्षक महासङ्घ र सङ्गठनका प्रतिनिधिहरूबीच विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक संख्या मिलान गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

नगरले उपप्रमुख थापाको नेतृत्वमा नगरका सबै ८१ वटा विद्यालयमा पुगी विद्यालयहरुविचको भौतिक दूरी, विद्यार्थी संख्या, शिक्षक संख्या, भौतिक संरचना, चल अचल सम्पत्ति तथा प्रशासनिक र व्यवस्थापकीय पक्षहरूको अध्ययन गरेको थियो । अध्ययन पछि पेश गरिएको प्रतिवेदन माथि छलफल गरी बैठकले त्यसलाई कार्यन्वयन गरेर जाने निर्णय गरेको छ ।

अब उक्त प्रतिवेदन उपर वडास्तरीय शिक्षा समितिले जनस्तरमा शिक्षक, अभिभावक तथा सरोकारवालासँग छलफल गरी नगर समितिमा सुझाव पेश गर्ने र सो सुझाव समेतको आधारमा यसलाई क्रमशः कार्यान्वयन गरिने सहमती बैठकमा सहभागी एक सदस्यले बताए ।

Leave a Reply