सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ ।
नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम हेलम्बुमा अस्पतालको शिलन्यास गरिएको हो ।
हेलम्बु गाउँपालिका वडाल नम्बर २ किउलमा आज गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हिन्दु र बौद्ध धर्मको परम्परा अनुसार अस्पतालको शिलन्यास गर्नुभएको हो । शिलन्यास गर्दै अध्यक्ष शेर्पाले अब हेलम्बुका नागरिकको स्वास्थ्य उपचार हेलम्बुमै हुने दावि गर्नुभयो ।
उहाँले सामान्य विरामि पर्दा समेत अन्यत्र जानपर्ने समस्याको अब छिट्टै अन्त्य हुनेभन्दै हेलम्बु गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्न लागेकोमा खुशि ब्यक्त गर्नुभयो । उहाँले दिन र रात गरि २ सिफ्टमा काम गरि निर्धारित समय अगावै काम सक्न समेत निमार्ण कम्पनीलाई आग्रह गर्नुभयो ।
उहाँले निमार्णको चरणमा हुने जतिपनि समस्या समाधान गर्न गाउँपालिका तयार रहेको उल्लेख गर्दै समयभन्दा अगाडिनै निमार्ण सम्पन्न हुनेमा विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष शेर्पाले सम्पुण जग्गादाता लाई धन्यवाद ब्यक्त गर्नुभयो ।
बहुबर्षीय योजना अन्तर्गत १८ करोड लागतमा १८ महिनामा उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ । न्यु ड्राइगन निमार्ण सेवा प्रालिले ठेक्का पाएको अस्पतालको समयमै काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने कुरामा आफु प्रतिबद्ध रहेको गाउँपालिका ठेकेदार अमर दोङले बताउनुभयो ।
राजधानीकै अस्पतालमा उपचार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयहरु आफ्नै ग्रामीण क्षेत्रमा आधुनिक सेवासहित अस्पताल निर्माण हुने भएपछि खुसी भएका छन् । केपि ओली नेतृत्वको तत्कालिन सरकारले १५ शैयाको अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने गरी देशभर एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान सुरु गरेको थियो ।