नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नं. ४, ५ र ६ का आदिवासी महिलाहरूलाई लक्षित गर्दै फलफूल तथा बिरुवा रोपणसम्बन्धी कार्यशाला र अनुगमन भ्रमण सम्पन्न भएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँगको साझेदारीमा सलसान नेपालको सहयोग तथा आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यशालामा ९५ जना आदिवासी महिलाहरूले सहभागिता जनाएका थिए।
कार्यक्रम अन्तर्गत पनौती नगरपालिका–१, रयालेस्थित जलवायु अनुकूल बगैँचा तथा नर्सरीको अवलोकन गराइएको थियो। भ्रमणका क्रममा विन्दावासिनी कृषि फर्म तथा अलैंची तथा फलफूल नर्सरीका प्रोप्राइटर गोविन्दप्रसाद तिमल्सिनाले सहभागी महिलालाई फलफूल खेती सुरु गर्ने तरिका, बिरुवा रोप्ने, हुर्काउने तथा स्याहार–सुसार गर्ने विषयमा व्यवहारिक तालिम दिनुभएकाे थिए।
कार्यक्रमको उद्देश्य जलवायु परिवर्तन न्यूनीकरणमा महिलाको नेतृत्व विकास गर्नुका साथै उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउनु रहेको थियो।
कार्यशाला भ्रमणपछि इन्द्रावती–४, ५ र ६ का आदिवासी महिलाहरूले उपयुक्त स्थानमा फलफूल र बोटबिरुवा रोप्ने योजना अघि बढाएका छन्। यसबाट पहिरो न्यूनीकरण, पानीका मुहान संरक्षण, वातावरण सन्तुलन तथा आम्दानीमा वृद्धि र सहयोग पुग्ने विश्वास लिइएको छ।
इन्द्रावती गाउँपालिकामा कार्यरत परिचालिका शिला तामाङका अनुसार, “फलफूल रोपणमार्फत महिलाहरूको आत्मनिर्भरता, क्षमता अभिवृत्ति र आर्थिक समृद्धि सुनिश्चित गर्नु हाम्रो मुख्य उद्देश्य हो।”
उहाँका अनुसार यो परियोजना ३ वर्षसम्म इन्द्रावतीको वडा नं. ४, ५ र ६ मा सञ्चालन हुनेछ। पहिलो वर्षको अवधिमा आदिवासी महिलाहरूको समूह निर्माण, उनीहरूको जलवायु नेतृत्व विकास सम्बन्धी गोष्ठी सञ्चालन, बिरुवा रोपाइँका लागि तयारी कार्य तथा वडाका प्रमुखहरूसँग समन्वय गरिनुका साथै फलदायी जग बसाइएको छ।
भ्रमण कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नं. ४ र ५ ,६ का कृषि प्राविधिक देवी माया सुनुवार र नवराज कटुवालको समेत उपस्थिति रहेको थियो।



