इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५१औँ वार्षिकोत्सव तथा २५औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङले वार्षिकोत्सवको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शैक्षिक क्षेत्रको विकासका लागि मेलम्ची नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । प्रमुख तामाङले शिक्षाको विकास समग्र नगरको विकासको पर्याय हुने बताउनुभयो । कार्यक्रममा तामाङले विद्यालयमा आफ्नो तर्फबाट नगर प्रमुख भए बापत पाउने तीन महिना बराबरको सेवा सुबिधा रकमको अक्ष्यकोष स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो । शिक्षामा गरेका लगानी तथा गुणस्तरीयताका लागी नगरपालिकाको तर्फबाट भएका कामको बारेमा जानकारी दिदैँ उहाँले दिवा खाजा,डिजिटल बोर्ड लगायत नगरले गरेका मुख्य कामको बारेमा अवगत गराउनुभयो । कम्तीमामा ७० प्रतिशत विद्यार्थी उतिर्ण हुनेगरी लाग्न विद्यालयलाई आग्रह गर्दै बाँकी ३० प्रतिशतका लागी होस्टेल,कोचिङ,अनलाईन कक्षाको व्यवस्था गर्दै सत्प्रतिशत उतिर्णहुने गरि तयारी गर्न आग्रह गर्नुभयो ।
कर्यक्रममा हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले एक दशकदेखि नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार रामकृष्ण थापा, अन्नपूर्ण दैनिकका जिल्ला संवाददाता सुन्दर शिरीषलाई हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८० बाट सम्मानित गरिएको छ । त्यस्तै चन्द्रयुग महाकाव्यका लेखक तथा वरिष्ठ साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई साहित्य सम्मान गरिएको छ । अनाथ बालबालिकाको शैक्षिक गतिविधि र विभिन्न सामाजिक सेवामा योगदान गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले पत्रकारद्धयलाई पाँच हजार एक सय नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको हो भने साहित्यकार न्यौपानेको पुरस्कार राशि भने संस्थाले खुलाउन चाहेन ।
हुत्तराज अर्धचन्द्र पाण्डेले मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका लागि तीन रोपनी जमिन दान गरेका थिए । नेपाल प्रहरीका पूर्वएआइजी गंगा पाण्डे, पूर्वएसपी सुदर्शन पाण्डे, मुरारी पाण्डे र शम्भु पाण्डेले दिवंगत पिताको नाममा ०६८ मा परोपकारी संस्था स्थापना गरेका थिए। संस्थाले बाढीपहिरोपीडित, दृष्टिविहीन, अशक्त, अनाथ र वृद्धवृद्धालाई आर्थिक सहायता प्रदान गर्दै आएको छ। यसका अलावा पत्रकार, साहित्यकारलाई योगदानको आधारमा छनोट गरेर पुरस्कृत पनि गर्दै आएको छ ।
कार्यक्रममा पुर्व राज्यमन्त्री गुरुङ,मेलम्ची ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ,जिल्ला शिक्षा समन्वय इकाई सिन्धुपाल्चोकको प्रमुख बैकुण्ठ सुवेदी,मेलम्ची नगरपालिका शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी लगायतले सम्बोधन गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सानिमैया पण्डितले शैक्षिक विकासको लागी सबैसंग सहकार्य गर्ने बताउनुभयो । विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिगर्ने देखि हरेक क्रियाकलापमा रचनात्मक सुझाव दिन उहाँले आग्रह गर्नुभयो ।
विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रधानाध्याक देवी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम शिक्षक यादव दुलाल र ठाकुर पौडेलले सञ्चालन गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ,विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।