नवलपुर । इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. ४ ले हात पारेको छ। आज भएको फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ३–१ को सेटमा पराजित गर्दै प्रथम वडा अध्यक्ष कपको उपाधि आफ्नै घरमा राख्न सफल भएको हो।
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ४ ले पहिलो सेट १७–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१८, तेस्रो सेट २२–२५ र चौथो सेट २३–२५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।
उपाधि विजेता वडा नं. ४ ले ट्रफीसहित ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उपविजेता वडा नं. ५ ले ३० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गरेको वडा नं. ८ ले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
इन्द्रावती गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा वडा खेलकुद समितिको आयोजनामा भदौ २६ गतेदेखि नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा वडा नं. ४ भित्रका नौवटा टिमको सहभागिता रहेको थियो। आज फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै पूर्व गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गाउँपालिकाका सबै वडामा यस्ता प्रतियोगिता आयोजना गर्न सके सबै युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाउने बताउनुभयो। यस्ता कार्यक्रमले युवाबीचको सौहार्दता कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। खेलमा सबैले जित्न नसके पनि प्रत्येक खेलाडीले केही न केही नयाँ कुरा सिक्ने उहाँले बताउनुभयो।

उहाँले खेलमा हुने ‘फेयर प्ले’ अर्थात् निष्पक्ष खेल भावनाले खेलकुद मात्र नभई राजनीति र राज्य सञ्चालनमा समेत सकारात्मक विद्रोह र परिवर्तनको भावना जन्माउन सक्ने धारणा राख्नुभयो। गाउँपालिकामा फुटबललगायत विभिन्न खेलका संरचना निर्माणका लागि आफूहरूले काम गरेको स्मरण गर्दै उहाँले नवलपुरमा कभर्ड हल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। युवाहरूलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्न शिक्षा, रोजगारीसँगै खेलकुदको विकास पनि आवश्यक रहेको उहाँले बताउनुभयो।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो। खेलाडीको क्षमता विकासमा सम्बन्धित पक्षको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले वडा नं. ४ ले प्रतियोगिता आयोजना गरेर खेलकुद क्षेत्रमा थप योगदान गरेको उल्लेख गर्नुभयो। यस्ता प्रतियोगिता पालिकास्तरमा मात्र सीमित नराखी आगामी दिनमा जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न पनि पालिकाले अग्रसरता लिनुपर्ने उहाँको भनाइ थियो। स्थानीय सरकारले खेलाडीलाई पर्याप्त अवसर दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
इन्द्रावती गाउँपालिका वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले ‘खेलकुद विकास कार्यक्रम’ शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो। प्रतियोगितामा सहभागी हुने सबै वडाका खेलाडी तथा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति र निकायलाई उहाँले धन्यवाद दिनुभयो।

खेलकुदले स्थानीय स्तरमा लुकेका प्रतिभालाई अवसर दिने, युवालाई स्वस्थ र अनुशासित बनाउने तथा आपसी भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष तामाङले बताउनुभयो। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई बधाई दिँदै उहाँले आगामी दिनमा अझ ठूलो स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न आफूहरूलाई प्रेरणा मिलेको बताउनुभयो।

वडा नं. ७ का अध्यक्ष रविन्द्रकुमार खातीले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो। आगामी दिनमा सबै वडाले यस्ता प्रतियोगितामा सहभागिता जनाउनुपर्ने बताउँदै उहाँले खेललाई मैत्रीपूर्ण र सौहार्दपूर्ण बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। खेलाडीहरूलाई अनुशासित भएर खेलकुदमा अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो।

वडा नं. ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले प्रतियोगिता आयोजना गरेकोमा वडा नं. ४ तथा आयोजक टोलीलाई धन्यवाद दिनुभयो। प्रतियोगितामा मेडल जित्न सफल वडाका खेलाडीहरूलाई शुभकामना दिँदै उहाँले खेलकुदको विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति उमेश अधिकारीले इन्द्रावतीमा खेलकुद क्षेत्र क्रमशः प्रगतितर्फ अघि बढिरहेको बताउनुभयो। यस्ता प्रतियोगिताले विभिन्न वडाका युवाबीच आपसी भाइचारा र सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। प्रतियोगितामा सबै वडाको सहभागिता आवश्यक रहेको बताउँदै उहाँले आगामी दिनमा जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले प्रतियोगितामा सबै टोली विजेता बन्न नसक्ने भए पनि असफल टोलीले निरन्तर प्रयास गरिरहे एक दिन सफलता प्राप्त गर्ने बताउनुभयो। हारलाई निराशाभन्दा पनि आगामी सफलताको आधारका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं. ४ का सभापति शेरबहादुर तामाङले खेलाडीको विकास र क्षमता अभिवृद्धिका लागि आवश्यक खेलकुद संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। खेलकुदका लागि आवश्यक पूर्वाधारबिना खेलाडीको क्षमता विकास र गुणस्तरीय खेलाडी उत्पादन गर्न कठिन हुने भन्दै उहाँले स्थानीय तहले खेलकुद संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
खेलकुद क्षेत्रको विकासमार्फत खेल पर्यटनको सम्भावनासमेत विकास गर्न सकिने उहाँले बताउनुभयो। आवश्यक खेलकुद संरचना निर्माण भएपछि गुणस्तरीय खेलाडी उत्पादन गरी उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सफल हुने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ४ का सचिव विशाल तामाङ लगायतको पनि सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी खेलाडी, आयोजक, सहयोगी संस्था तथा स्थानीयवासीले प्रतियोगिताले वडा तथा गाउँपालिकास्तरमा खेलकुदको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए।
पहिलोपटक आयोजना गरिएको वडा अध्यक्ष कपमा वडा नं. ४ ले उपाधि जितेसँगै प्रतियोगिताले स्थानीय युवाको खेल प्रतिभा पहिचान, विकास र अवसर सिर्जना गर्न महत्वपूर्ण आधार तयार गरेको आयोजकको भनाइ छ। आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र बृहत् बनाउँदै लैजाने अपेक्षा गरिएको छ।
