सेवक नेपालको संरक्षणमा ३८ बालबालिका, १२औँ स्थापना दिवसमा सामाजिक सेवाको प्रतिबद्धता
काभ्रे । “जसको कोही छैन, त्यसको लागि सेवक नेपाल छ” भन्ने अभियानलाई अघि बढाउँदै सेवक नेपालले आफ्नो १२औँ स्थापना दिवस मनाएको छ। मण्डनदेउपुर नगरपालिका–९ स्थित बालगृहमा आयोजित कार्यक्रममा संस्थाले संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्य निर्माणमा गर्दै आएको कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल सेवक नेपालको संरक्षणमा देशका विभिन्न १४ जिल्लाका ३८ जना बालबालिका रहेका छन्। संस्थाले उनीहरूको संरक्षण, पालनपोषण तथा शिक्षादीक्षामा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष बुद्धकुमार गौतमले जानकारी दिनुभएको छ।
स्थापना दिवस कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा प्रमुख अतिथि तथा नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नगर प्रमुख वाइबाले संरक्षणमा रहेका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै नगरपालिकाले आफ्नो क्षमताअनुसार संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर उपप्रमुख नेपालले आश्रयविहीन तथा अभिभावकविहीन बालबालिकाका लागि सेवक नेपाल अभिभावक बन्न सफल भएको बताउँदै संस्थाको मानवीय कार्यको प्रशंसा गर्नुभयो।
कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, पत्रकार तथा संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। अध्यक्ष गौतमले वि.सं. २०७० सालदेखि संस्थाले बाल संरक्षण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
