रेडियो मिसन ।
पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ पाँचपोखरी जिल्लास्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।
मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल भएको हो ।
प्लेयर अफ द म्याच चुनिएका सार्थकले ब्याटिङतर्फ अर्धशतक प्रहार गरेपछि पाँचपोखरीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उहाँले ४४ बलमा ५० रन जोड्ने क्रममा ५ चौका र ३ छक्का प्रहार गर्नुभयो । विवेक राना मगरले १६ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाउनुभयो । आर्यन धितालले २८ रन जोड्नुभयो ।
सार्थकले घातक बलिङ गरेपछि जवाफी ब्याटिङमा उत्रिएको हिमालयन १९ ओभरमा १ सय १९ रन जोड्दै अलआउट भयो । उहाँले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिनुभयो । हिमालयनका ओपनरद्वय पासाङ तामाङले ३३ र आर्या तामाङले २५ रन जोड्नुबाहेक अन्यले खासै प्रभाव जमाउन सकेनन् ।
त्यसअघि ह्योल्मो–११ ले मेलम्ची नगरपालिकालाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । पहिले ब्याटिङ गरेको मेलम्ची १८.५ ओभरमा ९२ रनमा समेटियो । सोनु देवकोटाले २९ रन जोड्नुबाहेक अन्यले खराब ब्याटिङ गर्दा ह्योल्मोले सहज लक्ष्य पाएको थियो ।
ओपनरद्वय विनोद तामाङ र नाम्गिल शेर्पाले १० ओभरमै विजयी लक्ष्य पूरा गरे । प्लेयर अफ द म्याच चुनिएका विनोदले नटआउट ६० रन बनाउनुभयो । उहाँले ३८ बलमा ९ चौका प्रहार गर्नुभयो । त्यस्तै नाम्गिल २२ बलमा ३ चौकासहित २६ रनमा नटआउट रहनुभयो । प्रतियोगिताको फाइनल खेल शनिबार विहान ११ बजे मुलपानी क्रिकेट रंगशालामा हुनेछ ।